काठमाडौं । चीनको विदेश मन्त्रालयले नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी उच्च हिमाली क्षेत्रमा रहेको हिमनदीको ठूलो हिस्सा भत्किएपछि सिर्जना भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा आएको बाढी र चीनको केरुङ क्षेत्रमा भएको विपत्तिबारे पत्रकारहरूको प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार चीन र नेपालका विज्ञ तथा सम्बन्धित आधिकारिक निकायहरूले विपत्तिको कारणबारे प्रारम्भिक मूल्याङ्कन गरेका छन्। उक्त मूल्याङ्कनअनुसार नेपालतर्फ उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि ठूलो परिमाणमा पानी र हिम–चट्टान बग्दै तल झरेको हो।
“चीन र नेपालका विज्ञहरू तथा आधिकारिक संस्थाहरूले विपत्तिको कारणबारे प्रारम्भिक मूल्याङ्कन गरेको हामीले जानकारी पाएका छौँ। उनीहरूको विश्लेषणअनुसार, नेपालमा उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि यो विपत्ति उत्पन्न भएको हो,” लिनलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। (
यसअघि नेपालका जल तथा मौसम विज्ञान अधिकारी तथा हिम वैज्ञानिकहरूले पनि लाङटाङ लिरुङ क्षेत्रबाट हिउँ तथा चट्टानको ठूलो हिस्सा खसेर ल्हेन्दे खोलामा पुगेको र त्यसपछि भोटेकोशीमा विनाशकारी बहाव सिर्जना भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेका थिए।
चिनियाँ विदेश मन्त्रालयका अनुसार विपत्तिपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका छन्। प्रधानमन्त्री ली छ्याङले पनि बेपत्ता तथा प्रभावित व्यक्तिको विवरण तत्काल यकिन गर्न र खोज तथा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। (
चीनले प्रभावित क्षेत्रमा आपत्कालीन प्रतिकार्यसम्बन्धी उच्चस्तरीय संयन्त्र सक्रिय गरिसकेको जनाएको छ। सेना, सशस्त्र प्रहरी, सीमा निरीक्षण तथा अग्नि उद्धारसम्बन्धी टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
नेपालतर्फको विपत्तिबारे चीनले नेपाल सरकारसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको तथा नेपालको आवश्यकताअनुसार आपत्कालीन सहयोग उपलब्ध गराउन तयार रहेको पनि प्रवक्ता लिनले बताएका छन्।
यस घटनाले नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्याएको भन्दै चीनले नेपाल सरकार तथा प्रभावित नेपालीप्रति समवेदना व्यक्त गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा विदेशी नागरिकको अवस्थाबारे पनि विवरण संकलन तथा प्रमाणीकरण जारी छ। उद्धार कार्यमा नागरिकको राष्ट्रियताभन्दा मानव जीवनलाई प्राथमिकता दिइएको चीनको भनाइ छ।
बाढीको कारणबारे प्रारम्भिक निष्कर्ष
चीनले सार्वजनिक गरेको यो प्रारम्भिक मूल्याङ्कनले भोटेकोशी बाढीको उत्पत्तिबारे नेपालमा भइरहेको वैज्ञानिक अध्ययनसँग पनि मेल खाने देखिन्छ। यद्यपि हिमनदी भत्किनुको विस्तृत कारण, त्यसको परिमाण, पानीको बहाव र घटनाको सम्पूर्ण भौगोलिक प्रक्रियाबारे थप अध्ययन आवश्यक रहनेछ।
विपत्तिको जोखिम अझै कायम रहेकाले प्रभावित क्षेत्रको नदी बहाव, हिमताल तथा सम्भावित अवरोध क्षेत्रको निरन्तर निगरानीलाई दुवै देशले प्राथमिकता दिएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्