काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बत स्वायत्त क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि चीनले सम्पूर्ण शक्ति र स्रोत परिचालन गरिरहेको बताएका छन्।
कीर्गिजस्तानका राष्ट्रपति सादिर जापारोभसँग सोमबार भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रारम्भिक मन्तव्य राख्दै राष्ट्रपति सीले तिब्बतमा जारी उद्धार, राहत तथा पुनर्स्थापनाबारे जानकारी गराएका हुन्।
उनले बाढीपहिरो प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनर्वास, घाइतेको प्रभावकारी उपचार र दोस्रो चरणको विपद् रोक्न आवश्यक सबै उपाय अपनाइएको बताए।
सीले विपद्पछि छिमेकी नेपालमा पनि उद्धार टोली पठाइएको र आपत्कालीन सहायता उपलब्ध गराइरहेको जानकारी गराएका छन्।
विपद्को कठिन घडीमा तिब्बतप्रति समवेदना तथा सहानुभूति व्यक्त गरेकोमा राष्ट्रपति सीले कीर्गिजस्तानका राष्ट्रपति सादिर जापारोभप्रति धन्यवाद व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
नेपालतर्फ पनि चिनियाँ उद्धार टोली
तिब्बतमा बाढीपहिरोपछि नेपाल–चीन सीमावर्ती क्षेत्रमा समेत ठूलो क्षति भएको छ। नेपालतर्फ भोटेकोसी क्षेत्रमा आएको बाढीले जनधन तथा भौतिक संरचनामा व्यापक क्षति पुर्याएको छ।
चिनियाँ पक्षले नेपालमा समेत खोज तथा उद्धारका लागि टोली परिचालन र आपत्कालीन सहयोग उपलब्ध गराउने कार्य अघि बढाएको राष्ट्रपति सीको भनाइले देखाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्