काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका २३ विद्यालयमा क्षति पुगेको छ। बाढीबाट ती विद्यालयमा अध्ययनरत करिब ६ हजार ९ सय विद्यार्थी प्रभावित भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीका अनुसार शिक्षा विकास तथा समन्वय इकाइमार्फत प्रारम्भिक रूपमा संकलन गरिएको विवरणमा रसुवाका ७, नुवाकोटका ८ र धादिङका ८ विद्यालय क्षतिग्रस्त भएका छन्। यद्यपि, यो विवरण अझै पूर्ण रूपमा प्रमाणीकरण हुन बाँकी रहेको उनले बताए।
८ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त
प्रारम्भिक विवरणअनुसार क्षति पुगेका २३ विद्यालयमध्ये ८ वटा पूर्ण रूपमा क्षतिग्रस्त, ८ वटामा ठूलो क्षति र बाँकी विद्यालयमा तुलनात्मक रूपमा कम क्षति पुगेको मन्त्रालयले जनाएको छ।
बाढीपहिरोका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारीसमेत प्रभावित भएका छन्। प्रारम्भिक सूचना र टेलिफोन सम्पर्कका आधारमा करिब २४१ जना विद्यार्थी, शिक्षक तथा कर्मचारी हराइरहेको वा सम्पर्कमा नरहेको विवरण प्राप्त भएको धामीले जानकारी दिए।
तर, विपद्का कारण सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध रहेकाले सम्पर्कविहीनको संख्या अझै यकिन हुन नसकेको मन्त्रालयले जनाएको छ।
‘पहिले जीवन जोगाउने प्रश्न ठूलो हो’
शिक्षा मन्त्रालयले अहिले विद्यालय सञ्चालनभन्दा प्रभावितको जीवनरक्षा र सुरक्षित स्थानमा व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ।
धामीका अनुसार बाढीको त्रासका कारण प्रभावित बालबालिका मानसिक रूपमा समेत आघातमा छन्।
“पहिले जीवन जोगाउने प्रश्न ठूलो हो। बाँचेकामध्ये पनि धेरै बालबालिका बाढीको त्रासले ट्रमामा छन्,” उनले भने।
बालबालिकालाई क्रमशः सामान्य अवस्थामा फर्काएपछि अस्थायी संरचना तथा सिकाइ केन्द्रमार्फत खेलकुद र अन्य गतिविधिमा सहभागी गराउँदै पुनः सिकाइमा जोड्ने योजना रहेको उनले बताए।
विद्यालयको क्षति मूल्यांकन गर्न द्रुत सर्वेक्षण
मन्त्रालयले प्रभावित क्षेत्रका विद्यालयको वास्तविक अवस्था पहिचान गर्न स्थलगत द्रुत सर्वेक्षण टोली परिचालन गरेको छ।
टोलीले रसुवा, नुवाकोट र धादिङ पुगेर विद्यालयको भौतिक अवस्था, विद्यार्थी तथा शिक्षकको स्थिति र तत्काल आवश्यक शैक्षिक सहयोगबारे तथ्यांक संकलन गर्नेछ।
मन्त्रालयले ८ देखि १० दिनभित्र प्रारम्भिक सर्वेक्षण पूरा गर्ने लक्ष्य राखेको छ। स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ र अन्य सम्बन्धित निकायसँग समन्वय गरी विद्यालयको क्षतिको यकिन विवरण तयार गरिनेछ।
सर्वेक्षणपछि कुन विद्यालय तत्काल सञ्चालन गर्न सकिन्छ, कुनलाई मध्यम वा दीर्घकालीन पुनर्निर्माण आवश्यक छ र कुन विद्यालय तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा छन् भन्ने वर्गीकरण गरिनेछ।
वैकल्पिक विद्यालय र अस्थायी सिकाइ केन्द्रको तयारी
तत्काल विद्यालय सञ्चालन गर्न नसकिने अवस्थामा रहेका विद्यालयका विद्यार्थीलाई नजिकका अन्य विद्यालयमा अस्थायी रूपमा अध्ययनको व्यवस्था मिलाउने विषयमा समेत मन्त्रालयले अध्ययन गरिरहेको छ।
विपद्पछि प्रभावित बालबालिकाको सिकाइ निरन्तरता तत्काल सहज नभए पनि उनीहरूलाई लामो समय शिक्षाबाट बाहिर राख्न नहुने मन्त्रालयको भनाइ छ। जीवनरक्षा र सामान्य अवस्थामा फर्काउने कामसँगै अस्थायी सिकाइ केन्द्र तथा वैकल्पिक व्यवस्थामार्फत बालबालिकालाई पुनः शिक्षामा जोड्ने तयारी भइरहेको छ।
यसका लागि शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा समूह (एजुकेसन क्लस्टर) समेत परिचालन गरिएको छ। सरकारी निकायसँगै गैरसरकारी संस्थालाई समेटेर गठन गरिएको उक्त समूहले प्रभावित क्षेत्रबाट सूचना तथा तथ्यांक संकलन गरिरहेको मन्त्रालयले जनाएको छ।
यातायात तथा सञ्चार सम्पर्क अझै पूर्ण रूपमा सहज नभएकाले सम्पर्कविहीन विद्यार्थी तथा शिक्षक–कर्मचारीको विवरण अद्यावधिक भइरहेको छ। त्यसैले हाल प्राप्त तथ्यांकलाई प्रारम्भिक विवरणका रूपमा मात्र लिइएको मन्त्रालयले जनाएको छ।
सर्वेक्षणबाट विद्यालयको क्षति, विद्यार्थी तथा शिक्षकको अवस्था र सिकाइ निरन्तरताका लागि आवश्यक स्रोत तथा संरचनाको यकिन भएपछि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर पुनर्स्थापना तथा शैक्षिक गतिविधि अघि बढाइने मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्