चितवन । सल्यानका २१ वर्षीय आयुष खड्काको रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएपछि सोमबार चितवन र तनहुँको संगमस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ। बाढीमा परेको पाँच दिनपछि उनको शव फेला परेको थियो। शव बिग्रँदै गएको र गृहजिल्ला सल्यानसम्म लैजान सम्भव नभएपछि परिवारले देवघाटमै अन्त्येष्टि गरेको आयुषका काका रमेश खड्काले बताए। बागचौर नगरपालिका–१० पिपलनेटाका आयुष लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि यसै वर्ष वैशाखमा रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा पहिलो पटक नियुक्त भएका थिए। सेवा प्रवेश गरेको पाँच महिनामै उनी विनाशकारी बाढीको चपेटामा परेका हुन्। आयुष स्नातक तहको परीक्षा दिन भदौ १६ गते गृहजिल्ला जाने तयारीमा थिए। भदौ १२ गते काठमाडौं आउने र त्यसपछि परीक्षा दिन घर जाने उनको योजना थियो। तर, घर फर्कने तयारीकै क्रममा भदौ १० गते बिहान आएको बाढीमा उनी परे। खड्का परिवारका जेठा छोरा आयुषको परिवारमा बुवा, आमा र बहिनी छन्। छोराको बाढीमा परेको खबर पाएपछि उनकी आमा मुना बेहोस भएकी थिइन्। सोमबार देवघाटमा आयुषको अन्त्येष्टि भइरहँदा आमा मुना र बहिनी आयुषा अर्धमूर्च्छित अवस्थामा थिए। आफन्तहरूले उनीहरूलाई सम्हाल्दै अन्तिम संस्कार सम्पन्न गरेका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्