काठमाडौं । लोकप्रिय नेपाली ब्यान्ड कन्दराले अमेरिकामा आयोजित कन्सर्टबाट संकलित २१ लाख रुपैयाँ भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।
कन्दराको आह्वान र अग्रसरतामा बीएनएमको आयोजनामा अमेरिकाको एटलान्टामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली दर्शक, विभिन्न संघ–संस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा स्थानीय नेपाली समुदायको सहभागिताबाट रकम संकलन गरिएको हो।
एटलान्टास्थित गैरनाफामूलक संस्था नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खातामार्फत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको कन्दराले सामाजिक सञ्जालमार्फत जनाएको छ।
‘यो केवल सांगीतिक कार्यक्रम थिएन’
कन्दराका गायक तथा संस्थापक विवेक श्रेष्ठले कार्यक्रमलाई मनोरञ्जनभन्दा माथि उठेर मातृभूमिप्रतिको जिम्मेवारी र एकताको अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्।
“यो केवल एउटा सांगीतिक कार्यक्रम थिएन। हजारौँ माइल टाढा रहेर पनि मातृभूमिको पीडासँग जोडिएको नेपाली मनहरूको सामूहिक अभिव्यक्ति थियो,” श्रेष्ठले भने।
देश विपद्मा परेका बेला गीत गाउन सहज नभए पनि संगीतलाई पीडामा मल्हम लगाउने माध्यम बनाउन सकिन्छ भन्ने विश्वासका साथ कार्यक्रम गरिएको उनले बताए।
“संकटको यस घडीमा हामीले संगीतलाई मनोरञ्जनबाट सेवातर्फ मोड्ने निर्णय गर्यौँ। एटलान्टाका नेपाली दाजुभाइ–दिदीबहिनीले देखाउनुभएको एकता, माया र सहयोगले यो सम्भव भयो,” उनले भने।
‘रिदम अफ चेन्ज’ सांगीतिक यात्रा जारी
कन्दरा गत ७ अगस्टदेखि ३० सेप्टेम्बरसम्म दुई महिना लामो अमेरिका यात्रामा छ। ‘रिदम अफ चेन्ज’ नाम दिइएको सांगीतिक यात्राको सुरुवात बोस्टनबाट गरिएको थियो।
एटलान्टापछि ब्यान्डले अमेरिकाका भर्जिनिया र कोलोराडोमा प्रस्तुति दिने कार्यक्रम छ।
ब्यान्डले बाँकी दुवै कार्यक्रममा पनि भोटेकोसी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउने जनाएको छ।
कन्दराको यो अभियानले विदेशमा रहेका नेपाली समुदायले संगीत र सांस्कृतिक कार्यक्रममार्फत समेत विपद्मा परेका स्वदेशवासीका लागि राहत तथा सहयोग जुटाउन सक्ने उदाहरण प्रस्तुत गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्