पोखरा । नेवार समुदायको मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा २७औँ तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव आयोजना हुने भएको छ।
नेवाःखल कास्कीको आह्वानमा लामाचौर नेवाः खल गुठीले आगामी भदौ २० गते शनिबार पोखरा–१६ स्थित लामाचौर चोकमा प्रतियोगिता आयोजना गर्न लागेको हो।
तायाःमचा संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको आयोजकले जनाएको छ।
नेवार समुदायमा परिवारका कुनै सदस्यको मृत्यु भएको एक वर्षभित्र गाईजात्रा निकाल्ने परम्परा छ। गाईजात्राका क्रममा बाजागाजासहित प्रस्तुत गरिने विशेष नृत्यलाई तायाःमचा भनिन्छ। यस वर्ष भदौ १३ गते गाईजात्रा परेको छ।
गाईजात्राको दिन बजार परिक्रमा गर्दा राति हुने भएकाले सबैलाई सहज हुने गरी त्यसपछिको पहिलो शनिबार प्रतियोगिता आयोजना गर्न लागिएको नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए।
उनका अनुसार पछिल्लो समय तायाःमचा नेवार समुदायमा मात्र सीमित नरही सबै पोखरेली तथा विभिन्न जातजातिको साझा सांस्कृतिक पर्वका रूपमा विकास हुँदै गएको छ।
पहिलोपटक लामाचौरमा आयोजना
पोखराका विभिन्न स्थानमा विगत २७ वर्षदेखि आयोजना हुँदै आएको तायाःमचा प्रतियोगिता यसपटक पहिलोपटक लामाचौरमा हुन लागेको हो।
मूल आयोजक समिति संयोजक सुशीलकुमार श्रेष्ठले लामाचौरमा प्रतियोगिता आयोजना गर्न पाउनु ऐतिहासिक अवसर भएको बताए। उनका अनुसार कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति आकर्षित गर्नुका साथै पुस्तान्तरणमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ।
यस वर्ष प्रतियोगितामा ३८ वटा टिम प्रतिस्पर्धामा सहभागी हुने अनुमान गरिएको छ। लामाचौर नेवाः खल गुठीका सचिव योगेन्द्र श्रेष्ठका अनुसार सहभागीमध्ये १२ वटा टिम महिलाका हुनेछन्। अप्रतियोगी समूहसहित कुल ४० टिमको सहभागिता रहनेछ।
बाटुलेचौर र छोरेपाटनले यसपटक पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउँदैछन्। आयोजक लामाचौरले भने अप्रतियोगी रूपमा आफ्नो प्रस्तुति दिनेछ।
विजेतालाई आकर्षक पुरस्कार
प्रतियोगिताको खुलातर्फ प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ।
त्यस्तै द्वितीय हुने टिमले ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीयले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा सान्त्वना हुने एक टिमले २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
महिलातर्फ प्रथम हुने टिमलाई ४० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार, तृतीयलाई २५ हजार र सान्त्वना हुने टिमलाई २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई प्रोत्साहनस्वरूप १५ हजार रुपैयाँ प्रदान गरिनेछ।
८ शाखामा तायाःमचा नाच निकाल्न सकिएन
कास्कीमा नेवाःखलका ४८ वटा शाखा रहे पनि पातलो बस्ती तथा बसाइँसराइका कारण यस वर्ष आठ स्थानमा तायाःमचा नाच निकाल्न नसकिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार तायाःमचा प्रतियोगिता केवल प्रतिस्पर्धाका लागि नभई लोपोन्मुख हुँदै गएको मौलिक संस्कृति संरक्षण, पुस्तान्तरण र सामुदायिक एकताको माध्यम समेत बन्दै गएको छ।
यस वर्षको कार्यक्रममार्फत पुरानो पुस्ताको सांस्कृतिक ज्ञान नयाँ पुस्तासम्म पुर्याउने तथा पोखराको बहुसांस्कृतिक पहिचानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्