काठमाडौं । गायक दुर्गेश थापा बाढीपहिरो प्रभावितका लागि राहत सामग्री लिएर नुवाकोटतर्फ लाग्नुभएको छ ।
उहाँले बाढीपहिरोबाट प्रभावित परिवारलाई लत्ताकपडा, सिरक–डसना तथा अन्य आवश्यक सामग्री वितरण गर्न लाग्नुभएको हो ।
थापाका अनुसार पछिल्लो समय नुवाकोटबाट लगातार फोन तथा सन्देशमार्फत सहयोगका लागि आग्रह आइरहेको थियो । बाढीपहिरोका कारण धेरै परिवारको घरबास, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको खबरले आफू भावुक भएको उहाँले बताउनुभएको छ ।
‘बाढी–पहिरोले धेरै परिवारको घरबास, खाद्यान्न र दैनिक जीवन नै तहसनहस बनाएको खबरले मन निकै भारी भएको छ,’ थापाले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘त्यसैले अब धेरै सोच्ने समय छैन । हामी राहतका सामग्री लिएर नुवाकोटतर्फ जाँदै छौँ ।’
उहाँले सकेसम्म प्रभावित तथा आवश्यक परेका ठाउँमा पुगेर राहत सामग्री वितरण गर्ने बताउनुभएको छ ।
कलाकारिताको क्षेत्रमा आफूलाई माया र विश्वास गर्ने दर्शक–श्रोताकै कारण यहाँसम्म आइपुगेको उल्लेख गर्दै थापाले दुःखमा परेका नागरिकलाई सहयोग गर्न पाउनु आफ्नो सौभाग्य भएको बताउनुभएको छ ।
‘दुःखमा परेको आफ्नै नेपालीको अनुहार सम्झिँदा सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ भन्ने विश्वास छ,’ उहाँले भन्नुभएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्