बागलुङ । प्रबुद्ध युवा समूह बागलुङको आयोजनामा आगामी भदौ २१ गते दोस्रो तीज नृत्य प्रतियोगिता आयोजना हुने भएको छ। गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा हालसम्म २० वटा टोली सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ।
समूहले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराउँदै युवालाई जागरुक, एकताबद्ध र रचनात्मक गतिविधिमा सहभागी गराउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। समूहका अध्यक्ष रोहित सुनारका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न विद्यालय तथा टोलीको सहभागिता रहनेछ।
मौलिक तीज संस्कृति संरक्षणमा जोड
प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन्। आयोजकका अनुसार प्रतियोगितामा मौलिक प्रकृतिका तीज गीत र नृत्यलाई मात्र प्राथमिकता दिइनेछ।
आयोजक समूहका अगुवा दिलीप प्रतेलले प्रतियोगितामार्फत मौलिक तीज संस्कृति संरक्षण तथा प्रवर्द्धनसँगै विद्यालय तहमा रहेका विद्यार्थीको प्रतिभा उजागर गर्ने लक्ष्य राखिएको बताए।
प्रतियोगिताको उद्देश्य विद्यार्थीमा सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्नु, विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा बढाउनु तथा महिला सशक्तीकरणमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ।
करिब आठ लाख रुपैयाँको बजेट
समूहले प्रतियोगिता सञ्चालनका लागि ७ लाख ६८ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ। युवालाई गीत–संगीत र सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्दै स्थानीय तथा मौलिक सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीयले २७ हजार ५ सय ५५ रुपैयाँ र तृतीय हुने टोलीले १५ हजार ५ सय ५५ रुपैयाँपुरस्कार प्राप्त गर्नेछन्।
बाढीपीडितका लागि राहत सहयोग
यसैबीच, प्रबुद्ध युवा समूहले हालै रसुवा र नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि पनि सहयोग गर्ने घोषणा गरेको छ।
समूहले तत्काल १० हजार रुपैयाँ संकलन गरी राष्ट्रिय राहत अभियानमार्फत बाढीपीडितलाई सहयोग गर्ने जनाएको छ। यसअघि पनि समूहले चेतनामूलक, सिर्जनात्मक तथा सामाजिक गतिविधिका साथै विपद्का समयमा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्