काठमाडौं । अभिनेता पल शाहको निर्माणमा बनिरहेको फिल्म ‘यानीमाया’को प्रदर्शन अधिकार ६ देशमा बिक्री भएको छ।
निर्माणपक्षका अनुसार फिल्मको प्रदर्शन अधिकार हङकङ, जापान, दक्षिण कोरिया, मलेसिया, कतार र थाइल्याण्डमा बिक्री गरिएको हो। अन्य देशमा पनि प्रदर्शनका लागि कुराकानी भइरहेको र ती सम्झौता पनि छिट्टै टुंगिने निर्माणपक्षले जनाएको छ।
फिल्म ‘मोहर’पछि विदेशी बजारमा पल शाहको क्रेज बढेको निर्माणपक्षको दाबी छ। उनले अभिनय गरेको फिल्म ‘आ बाट आमा’ले पनि विदेशी बजारमा राम्रो व्यापार गरेको बताइएको छ।
घोषणासँगै चर्चामा आएको ‘यानीमाया’को ४० दिने छायांकन तालिका तय गरिएको छ। फिल्मको हाल छायांकन भइरहेको छ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्ममा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी र नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ।
बाल कलाकारका रूपमा शान्न अधिकारी र मोनिका भण्डारी पनि फिल्ममा छन्।
चन्द्र ज्योति आले र पल शाहको लगानीमा बन्न लागेको फिल्ममा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन र भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ।
सामाजिक प्रेमकथामा आधारित फिल्म ‘यानीमाया’लाई फागुन ७ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा निर्माणपक्षले गरेको छ। हाल गुन्डुको छायांकन भइरहेको र त्यसपछि निर्माण टोली पर्वत जाने तयारीमा रहेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्