काठमाडौं । काठमाडौँको जमलमा तीन दिनदेखि जारी ‘लोकदोहोरी मेला २०८३’ सम्पन्न भएको छ । टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङको अवसरमा भदौ ५ गतेदेखि सुरु भएको मेला चर्चित लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
मेलाको अन्तिम साँझ लोकदोहोरी संगीतकर्मी राजु परियार, शान्ता रानी परियार, शिव हमाल, श्याम रानालगायत कलाकारले प्रस्तुति दिएका थिए । कलाकारका लोकप्रिय गीतमा दर्शकले साथ दिँदा जमलस्थित विश्वज्योति मलको चौथो तला रात अबेरसम्म सांगीतिक माहोलमा गुञ्जिएको थियो ।
लोकदोहोरीसँगै नेपाली मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुतिले पनि दर्शकको ध्यान खिचेको थियो । विशेषगरी कौडा नृत्यलगायत मौलिक सांस्कृतिक प्रस्तुतिले मेलाको रौनक थपेको थियो ।
तीन दिनअघि चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता दिनेश डीसीको प्रमुख उपस्थितिमा मेलाको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा दुर्गेश थापा, बद्री पंगेनीलगायत कलाकार तथा अतिथिलाई बाजागाजासहित स्वागत गरिएको थियो । त्यसपछि ज्योति मगर, प्रीति आले, विश्व दोङ, बद्री पंगेनीलगायत कलाकारले प्रस्तुति दिएका थिए ।
उद्घाटनकै दिन दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । टप दरबार रोधीको हल दर्शकले खचाखच भरिएपछि मेला सुरुवातदेखि नै चर्चामा आएको थियो ।
तीन दिनसम्म चलेको मेलामा टप दरबार रोधीसँग आबद्ध करिब ६० कलाकारको समेत सहभागिता रहेको थियो । स्थापित कलाकारदेखि नयाँ पुस्तासम्मलाई एउटै मञ्चमा प्रस्तुत गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र रोधी परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलाले स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने र कलाकार तथा दर्शकबीचको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्यसमेत लिएको थियो ।
टप दरबार रोधीका सञ्चालक अशोक गिरीका लागि यो मेला करिब २५ वर्ष लामो दोहोरी तथा रोधी यात्राको महत्त्वपूर्ण सुरुवात बनेको छ । बाउन्सरका रूपमा काम सुरु गरेका गिरी पछि दोहोरी साँझको व्यवस्थापनमा प्रवेश गरेका थिए । उनले लामो समयदेखि कलाकारलाई मञ्च उपलब्ध गराउँदै आएका छन् ।
करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको टप दरबार रोधीमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ । क्लबका अनुसार यहाँ १०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपाली मौलिक परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति, आधुनिक प्रविधि र पारिवारिक वातावरणलाई क्लबले आफ्नो विशेषताका रूपमा अघि सारेको छ ।
सञ्चालक गिरीले रोधीलाई मनोरञ्जनको स्थलमा मात्र सीमित नराखी नेपाली लोकसंगीत, कलाकार र दर्शकबीचको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेका छन् । सोहीअनुसार स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई पनि निरन्तर मञ्च दिने योजना क्लबले अघि सारेको छ ।
उद्घाटनदेखि अन्तिम साँझसम्म कलाकारको प्रस्तुति, दर्शकको उत्साह र मौलिक सांस्कृतिक कार्यक्रमले जमलको माहोल तताएको तीनदिने ‘लोकदोहोरी मेला २०८३’ टप दरबार रोधी क्लबको औपचारिक सुरुवातसँगै नेपाली लोकसंगीत र संस्कृतिको उत्सवका रूपमा सम्पन्न भएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्