गोरखा । रसुवाबाट आएको विनाशकारी बाढीले त्रिशूली नदीमा बगाएका मानिसका शव तथा मानव शरीरका अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्। बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म त्रिशूली नदी किनारका विभिन्न क्षेत्रमा १८ वटा शव तथा मानव शरीरका अंग फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बुधबार दिउँसो २ः३० बजेदेखि स्थानीयवासीले नदी किनारमा शव देखिएको सूचना दिएपछि जिल्लाका विभिन्न प्रहरी युनिटबाट खोजी तथा संकलन टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार बिहीबार बिहान ६ बजेसम्म गण्डकी गाउँपालिका–८, धवादीघाटस्थित त्रिशूली नदी किनारमा एउटा खुट्टा नभएको पुरुषको शवसहित अन्य छ जनाको शव फेला परेको छ।
त्यसैगरी, गण्डकी गाउँपालिका–६, भूम्लीचोकस्थित त्रिशूली नदी किनारमा रुखमा अड्किएको अवस्थामा अर्को शव फेला परेको प्रहरीले जनाएको छ। गण्डकी गाउँपालिका–१, बुट्टारमा नदी किनारस्थित टिनको छाप्रोमा मानिसको एउटा खुट्टा मात्र फेला परेको छ।
गण्डकी गाउँपालिका–४, फेवाटारस्थित त्रिशूली नदी किनारको खेलमैदानमा पाँच पुरुषको शव र एक पुरुषको टाउको फेला परेको छ। यस्तै, सहिद लखन गाउँपालिका–३, सिलिङटारस्थित त्रिशूली नदी किनारमा थप तीन जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिचान खुल्न बाँकी
फेला परेका शव तथा मानव शरीरका अंगको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सम्बन्धित प्रहरी युनिटबाट खटिएको टोलीले शव तथा शरीरका अंग सुरक्षित रूपमा संकलन गरी आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।
रसुवाबाट आएको शक्तिशाली बाढीले त्रिशूली नदी प्रणाली हुँदै तल्लो तटीय क्षेत्रसम्म ठूलो क्षति पुर्याएको छ। बाढीसँगै बगेका मानिस तथा संरचनाका अवशेष विभिन्न जिल्लाका नदी किनारमा फेला पर्न थालेका छन्।
प्रहरीले त्रिशूली नदी आसपासका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइएको जनाएको छ। अन्य स्थानमा पनि शव वा मानव शरीरका अंग फेला पर्न सक्ने सम्भावना रहेकाले सुरक्षा निकाय र स्थानीय तहको सहयोगमा खोजी तथा उद्धार कार्य जारी राखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्