काठमाडौं, भदौ ११ गते । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौंसहित नौ जिल्लाका विभिन्न सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको वा जोखिमका कारण निश्चित समयका लागि सञ्चालनमा रोक लगाइएको छ।
बाढी, पहिरो तथा नदीको बढ्दो बहावका कारण यात्रुको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न स्थानमा सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।
नागढुंगा–मुग्लिन सडकखण्ड बन्द
काठमाडौंको नागढुंगादेखि मुग्लिन सडकखण्डसम्म सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ।
यस्तै, इलाम नगरपालिका–९ स्थित राजदुवाली क्षेत्रमा झापादेखि ताप्लेजुङ जोड्ने सडकखण्ड अत्यधिक वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
बागमतीका विभिन्न जिल्लामा सडक अवरुद्ध
बागमती प्रदेशका काभ्रे, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न सडकखण्डमा पनि बाढी तथा पहिरोको असर परेको छ।
काभ्रेको खुर्कोट–नेपालथोक–काठमाडौं सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म भने सडकको अवस्था हेरेर यातायात सञ्चालन गर्न सकिने जनाइएको छ।
त्यस्तै, मकवानपुरको हेटौँडा–भीमफेदी–बागमती–ललितपुर जोड्ने कान्तिलोकपथमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
रसुवा र नुवाकोट सडक सम्पर्कबाट प्रभावित
रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित खाल्टे क्षेत्रमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लाको मुख्य राजमार्गसमेत प्रभावित भएको प्रहरीले जनाएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घ्याङफेदी क्षेत्रमा तोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटका अन्य मुख्य सडकखण्डसमेत बाढीका कारण प्रभावित भएका छन्।
पृथ्वी र मुग्लिन–नारायणगढ राजमार्ग पनि प्रभावित
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला, गजुरी गाउँपालिका–२, गल्छीलगायत क्षेत्रमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
चितवनमा पनि बाढीको प्रभावका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा आवागमन रोकिएको प्रहरीले जनाएको छ।
यता, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबीसकोट नगरपालिका–६, रिगाउँखोला क्षेत्रमा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
यात्रुलाई सतर्क रहन आग्रह
नेपाल प्रहरीले बाढी तथा पहिरोको जोखिम रहेका सडकखण्डमा यात्रुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा आधिकारिक निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न आग्रह गरेको छ।
सडकको अवस्था सुधार भएपछि र जोखिम कम भएपछि मात्रै यातायात सञ्चालनसम्बन्धी नयाँ निर्णय गरिने प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्