काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिप्रति बलिउडका कलाकारहरूले गहिरो दुःख व्यक्त गर्दै नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।
सामाजिक सञ्जालमार्फत बलिउडका चर्चित कलाकारहरूले नेपालमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरेका हुन्। केही कलाकारले राहत तथा उद्धार अभियानमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
नेपालमा आएको विपत्तिसँगै तिब्बततर्फ भएको क्षतिप्रति पनि केही भारतीय कलाकारहरूले चिन्ता व्यक्त गरेका छन्।
सोनु सुद, अनुपम खेर, संजय दत्त, सोनु निगम, अरुण गोविल, फरहान अख्तर, कंगना रनावत, रश्मिका मन्दाना, भूमी पेड्नेकर, चित्रांगदा सिंह, नोरा फतेही, अनन्या पाण्डे, कृति सेनन, अर्पिता खान र सेफाली शाह लगायतका कलाकारले सामाजिक सञ्जालमार्फत ‘प्रे फर नेपाल’ भन्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।
अभिनेता सोनु सुदले भने राहत तथा उद्धार अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसअघि पनि विपद् तथा संकटका बेला मानवीय सहयोगमा सक्रिय रहँदै आएका सुदले नेपालमा परेको विपत्तिमा आवश्यक सहयोग गर्ने बताएका हुन्।
बलिउड कलाकारहरूको सहानुभूति र सहयोगको प्रतिबद्धताले नेपालको विपत्तिले भारतमा समेत ठूलो मानवीय चासो सिर्जना गरेको देखिएको छ।
नेपालमा भएको जनधनको क्षतिप्रति भारतबाहेक अन्य देशका कलाकार तथा सार्वजनिक व्यक्तित्वहरूले समेत सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाइरहेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्