भक्तपुर । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई स्थलमार्गबाट उद्धार गर्न थालिएको छ।
बाढीका कारण नियमित सडकमार्ग अवरुद्ध भएपछि वाग्मती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी धुन्चेमा रोकिएका नागरिकलाई काठमाडौं उपत्यका ल्याउने व्यवस्था मिलाएको हो। उद्धार तथा व्यवस्थापनका लागि मुख्यमन्त्री किरण थापामगरले सम्बन्धित निकायसँग समन्वय गरेका छन्।
मुख्यमन्त्री थापाका अनुसार धुन्चेमा रहेका यात्रुलाई तत्काल खानाको व्यवस्था गरी वैकल्पिक मार्गबाट सुरक्षित स्थानतर्फ लैजाने काम भइरहेको छ।
उनले भने, “धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ। खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पु¥याएर त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौं पठाउने कार्य गरेका छौँ।”
उद्धारको पर्खाइमा रहेका यात्रुलाई प्रदेश सरकारले निःशुल्क बसको व्यवस्थासमेत गरेको मुख्यमन्त्री थापाले बताए। धुन्चेसँगै चौगटीमा पनि सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै गरेको उनले जानकारी दिए।
मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास
यसैबीच वाग्मती प्रदेश सरकारले त्रिशूलीपारिको क्षेत्रमा अवरुद्ध मध्यपहाडी लोकमार्ग मर्मत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको छ।
उक्त सडक सञ्चालनमा आएपछि रसुवासहित बाढी प्रभावित क्षेत्रका नागरिकले काठमाडौं आउजाउका लागि वैकल्पिक सडकमार्ग प्रयोग गर्न सक्ने प्रदेश सरकारको अपेक्षा छ।
भोटेकोसी बाढीका कारण रसुवाको नियमित सडक सम्पर्क प्रभावित भएपछि प्रभावित क्षेत्रमा रहेका नागरिकको उद्धार तथा आवतजावतका लागि वैकल्पिक मार्गको खोजी भइरहेको छ। प्रदेश सरकारले तत्कालका लागि स्थलमार्गबाट उद्धारसँगै सडक पूर्वाधार पुनःस्थापनालाई समेत प्राथमिकता दिएको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्