काठमाडौं । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउँदै राजधानीमा यस वर्षको गाईजात्रा सुरु भएको छ ।
गाईजात्राका अवसरमा राजधानीका विभिन्न स्थानमा दिवङ्गत आफन्तको सम्झनामा झाँकीसहित गाई नगर परिक्रमा गराइएको हो । परम्पराअनुसार श्रद्धालुले गाईलाई दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न तथा द्रव्य दान गर्ने गरेका छन् ।
धार्मिक विश्वासअनुसार गाई नगर परिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका व्यक्तिले गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्ने मान्यता छ । यही विश्वासका आधारमा राजधानीका विभिन्न टोल तथा बस्तीमा गाईजात्राका झाँकी निकालिएका हुन् ।
उपत्यकाका विभिन्न स्थानमा झाँकी
गाईजात्राका अवसरमा वसन्तपुर, असन, इन्द्रचोक, बाङ्गेमुढा, लगन, ओमबहाल, टेकु, त्रिपुरेश्वर, क्षेत्रपाटी, ठमेल, बागबजार, डिल्लीबजार, जयवागीश्वरी, चावहिल, गोकर्ण, साँखु, टोखा र कीर्तिपुरलगायत क्षेत्रमा झाँकी तथा नगर परिक्रमा गरिएको छ ।
परम्परागत रूपमा हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन गाईजात्रा मनाइन्छ । यस अवधिमा दिवङ्गत आफन्तको सम्झनामा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिन्छ ।
राजा प्रताप मल्लको पालादेखि सुरु भएको मान्यता
ऐतिहासिक जनश्रुतिअनुसार गाईजात्राको परम्परा राजा प्रताप मल्लको पालादेखि सुरु भएको मानिन्छ ।
राजा प्रताप मल्लकी रानी पुत्रशोकले विह्वल भएपछि उनलाई संसारमा शोक सबैले बेहोर्नुपर्छ भन्ने देखाउन राजाले जनतालाई आ–आफ्ना घरमा दिवङ्गत व्यक्तिको नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउन आदेश दिएको बताइन्छ ।
त्यसपछि पनि रानीको शोक कम नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम सञ्चालन गर्न आदेश दिइएको जनश्रुति छ । यही परम्परासँगै गाईजात्रामा सामाजिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्ने संस्कार विकसित भएको मानिन्छ ।
प्रताप मल्लको पालादेखि सुरु भएको गाईजात्राका क्रममा हनुमानढोकास्थित तत्कालीन राजप्रासाद हुँदै झाँकी लैजानुपर्ने परम्परा अहिले पनि कायम रहेको छ ।
शोकका कारण यस वर्ष व्यङ्ग्यात्मक कार्यक्रम रोकियो
गाईजात्रामा धार्मिक तथा सांस्कृतिक झाँकीसँगै प्रहसन, नाचगान र सामाजिक विकृतिविरुद्ध व्यङ्ग्यात्मक प्रस्तुति हुँदै आएको छ । मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत गाउने परम्परासमेत रहेको छ ।
तर यस वर्षको गाईजात्रा भने देशले भोगिरहेको ठूलो विपत्तिको छायामा परेको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा नागरिकको मृत्यु भएकाले यस वर्ष प्रहसन तथा हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम आयोजना नगरिएको जनाइएको छ ।
यसरी गाईजात्राको मूल सांस्कृतिक परम्परा कायम रहे पनि विपत्तिपछिको राष्ट्रिय शोकलाई ध्यानमा राख्दै उत्सवका हाँस्यव्यङ्ग्यात्मक पक्षलाई सीमित गरिएको छ ।
गाईजात्रा काठमाडौं उपत्यकामा विशेष रौनकका साथ मनाइने पर्व भए पनि यस वर्ष भने धार्मिक आस्था, दिवङ्गत आफन्तको सम्झना र सामूहिक शोकलाई केन्द्रमा राखेर पर्व मनाइएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्