ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय पुगेका ३५० बालबालिका जोगिए, बाटोमै हराए २०० विद्यार्थी : होल्डिङ सेन्टरमा चार वर्षीय बालक सोधिरहन्छन्– ‘मेरो आमा खोइ?’


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ५ : १५   बजे

काठमाडौं । ‘माथिबाट ठूलो बाढी आइरहेको छ, सर तपाईँ कता हुनुहुन्छ?’

भदौ १० गते बिहान रसुवाको उत्तरगया गाउँपालिकास्थित नीलकण्ठ माध्यमिक विद्यालयका शिक्षक प्रकाश नेपाललाई आएको एउटा फोन थियो यो। उनी त्यसबेला विद्यालय जाने तयारीमा थिए।

माथिबाट ठूलो मुस्लोसहित बाढी आइरहेको सूचना पाएपछि नेपालले तत्काल शिक्षक–शिक्षिका र आफन्तलाई फोन गरेर सतर्क गराए। तर, विद्यालयको बस विद्यार्थी लिन पहिले नै निस्किसकेको थियो।

बिहान ९ बजेदेखि पढाइ हुने नीलकण्ठ माविमा विद्यार्थी आउने क्रम सुरु भइसकेको थियो। बसबाट आउने र विद्यालय नजिकै बस्ने गरी करिब ३५० विद्यार्थी विद्यालय पुगिसकेका थिए।

अर्का करिब दुई सय विद्यार्थी भने हिँडेरै विद्यालय आउने गर्थे।

ती विद्यार्थी त्यो बिहान विद्यालयसम्म आइपुगेनन्। घर पनि फर्किएनन्।

भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि नीलकण्ठ माविका करिब २०० विद्यार्थी सम्पर्कविहीन छन्।

बिहानै विद्यालय खुलेका कारण जोगिए ३५० विद्यार्थी

विद्यालयमा करिब ५५० विद्यार्थी अध्ययनरत रहेको शिक्षक नेपाल बताउँछन्। तीमध्ये करिब ३५० जना सुरक्षित छन्। विद्यालयसमेत उच्च स्थानमा रहेकाले बाढीबाट जोगिएको छ।

तर, विद्यार्थीलाई विद्यालय पुर्‍याएर फर्किएको बस भने बाढीले बगाएको उनले बताए।

विद्यालय बसबाट आएका सबै विद्यार्थी सुरक्षित रहे पनि करिब २०० विद्यार्थी, तीन शिक्षक र एक विद्यालय नर्स सम्पर्कविहीन रहेको नेपालले जानकारी दिए।

“दुई सय विद्यार्थीसहित कम्प्युटर इन्जिनियरिङ पढाउने शिक्षक, कक्षा १२ को दरबन्दीमा कार्यरत एक शिक्षक, ईसीडी शिक्षिका र विद्यालय नर्स सम्पर्कविहीन हुनुहुन्छ,” उनले भने।

विद्यालय बिहान ९ बजेदेखि नै सञ्चालन गर्ने अभ्यासले धेरै विद्यार्थीको ज्यान जोगिएको शिक्षक नेपालको बुझाइ छ।

“बिहानै विद्यालय सुरु भएका कारण विद्यार्थी विद्यालय आउन सके। त्यसकारण पनि धेरै विद्यार्थी सुरक्षित हुन पाए,” उनले भने, “नत्र हाम्रा ८० प्रतिशत विद्यार्थीलाई बाढीले बगाउने थियो।”

विद्यार्थी जोगिए, धेरैका आमाबुबा भेटिएनन्

विद्यालय पुगेका विद्यार्थी सुरक्षित भए पनि अर्को पीडा सुरु भयो– धेरैका अभिभावक सम्पर्कमा आएनन्।

अभिभावकसँग सम्पर्क हुन नसकेका विद्यार्थीलाई अहिले क्याम्पमा राखिएको छ।

“विद्यार्थी सुरक्षित छन्। तर उनीहरूका अभिभावकसँग सम्पर्क हुन सकेको छैन,” नेपालले भने, “दिवा खाजाका लागि खरिद गरिएका चामल, दाल र तेलबाट पकाएर खुवाइरहेका छौँ। अब राहत पनि आउन थालेको छ।”

उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार बाढीले गाउँपालिकाका चिप्लेटी आधारभूत विद्यालय, मोर्डन ट्रिनिटी बोर्डिङ र मालिकादेवी आधारभूत विद्यालय गरी तीन विद्यालय पूर्ण रूपमा बगाएको छ।

गाउँपालिकाभर सात शिक्षक र एक विद्यालय नर्ससमेत सम्पर्कविहीन रहेको उनले बताए।

२५० विद्यार्थी होल्डिङ सेन्टरमा

बाढी प्रभावित करिब २५० विद्यार्थीलाई होल्डिङ सेन्टरमा राखिएको गाउँपालिकाले जनाएको छ।

तर, गाउँपालिकाभर कति विद्यार्थी सम्पर्कविहीन छन् भन्ने यकिन तथ्यांक अझै प्राप्त भएको छैन।

उप्रेतीका अनुसार सुरक्षित रहेका विद्यार्थीमध्ये ४० जनाका अभिभावक मात्र सम्पर्कमा आएका छन्।

“२७ विद्यार्थीका आमा र बुबामध्ये एक जना सम्पर्कमा रहेको जानकारी पाएका छौँ। अन्यका अभिभावक सम्पर्कविहीन हुनुहुन्छ,” उनले भने।

अभिभावक नभेटिएका विद्यार्थीलाई स्थानीय शिवालय, भीमस्थान माध्यमिक विद्यालय तथा नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

‘मेरो आमा खोइ?’

होल्डिङ सेन्टरमा चार वर्षका बालबालिकादेखि १८ वर्षसम्मका किशोरकिशोरी छन्।

ठूला विद्यार्थीले परिस्थितिको भयावहता केही हदसम्म बुझ्न थालेका छन्। तर साना बालबालिकालाई के भएको हो भन्ने थाहा छैन।

उनीहरूलाई एउटै कुरा थाहा छ– आमाबुबा साथमा छैनन्।

“साना–साना बालबालिका पनि छन्। उनीहरूले बेला–बेला ‘आमाबुबा खोइ?’ भन्दै खोज्छन्,” उप्रेतीले भने।

बालबालिकालाई भुलाउन शिक्षक तथा स्वयंसेवकले खेल खेलाउने, कथा सुनाउने र पुस्तक पढ्न लगाउने गरेका छन्।

तर साना बालबालिका बारम्बार अभिभावक खोज्न थालेपछि उनीहरूलाई सम्हाल्न कठिन भइरहेको छ।

“अहिलेसम्म त उहाँहरू भेटिनुहुन्छ भन्दै सान्त्वना दिँदै आएका छौँ,” उप्रेतीले भने।

बाढीबाट जोगिए, मानसिक आघातसँग जुध्दै

भयावह बाढी देखेका, घरपरिवारसँग सम्पर्क गुमाएका र अचानक होल्डिङ सेन्टरमा बस्नुपरेका बालबालिकामा मानसिक तनाव र त्रास देखिएको छ।

उनीहरूलाई परामर्श दिएर सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ।

“यति ठूलो घटना भयो। परिवार साथमा छैनन्। के भयो, कसो भयो भन्ने अन्योलले उनीहरू मानसिक रूपमा नै विचलित छन्,” उप्रेतीले भने, “हामीले सकेसम्म पीडा भुलाउने गरी गतिविधि गरिरहेका छौँ।”

२०७२ को भूकम्पले विस्थापित, अहिले बाढीले उजाड्यो

यो विपद्को अर्को पीडादायी पक्ष पनि छ।

शिक्षक नेपालका अनुसार नीलकण्ठ माविमा अध्ययन गर्ने धेरै विद्यार्थीका परिवार २०७२ सालको भूकम्पपछि विस्थापित भएर खोला तथा सडक आसपासका क्षेत्रमा बस्दै आएका थिए।

एक दशकअघि भूकम्पले उनीहरूको पुरानो थातथलो खोस्यो। त्यसपछि उनीहरूलाई नदी आसपासका जोखिमयुक्त क्षेत्रमा बसाइयो। अहिले त्यही समुदाय बाढीको सबैभन्दा ठूलो मारमा परेको उनको भनाइ छ।

“२०७२ सालमा विस्थापित भएर आएकालाई सडक किनारमा लगेर राखियो। हाम्रो विद्यालयमा आउने विद्यार्थी त्यहीँ बस्ने गर्थे,” नेपालले भने, “भूकम्प विस्थापित भएकालाई खोला किनारमा लगेर राखियो। त्यहाँ बस्नेहरू अहिले सम्पर्कविहीन हुनुहुन्छ।”

ती बस्ती यसअघि पनि पटक–पटक डुबानमा पर्ने गरेको उनले बताए।

जोखिमयुक्त स्थानमा पुनर्वास गरिएकै कारण विपद्ले फेरि तिनै परिवारलाई प्रहार गरेको उनको बुझाइ छ।

“जोखिममा बस्ती बसालेका कारण बाढीले बगायो,” नेपालले निराश हुँदै भने, “आँधी जसरी आएको बाढीले विस्थापित परिवारलाई नै बगायो।”

एक दशकअघि भूकम्पबाट जोगिएर नयाँ जीवन सुरु गरेका परिवार फेरि अर्को प्राकृतिक विपद्को चपेटामा परेका छन्।

र, होल्डिङ सेन्टरमा रहेका साना बालबालिकाका लागि अहिले बाढी, पुनर्वास र विपद् व्यवस्थापनजस्ता शब्दको कुनै अर्थ छैन।

उनीहरूको प्रश्न अझै सरल छ– ‘मेरो आमा खोइ?’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

‘भोटेकोशी बाढी होइन, हिमाली सुनामी हो’ : विश्व मञ्चमा नेपालले मुद्दा उठाउन विज्ञको सुझाव

चीनमा उद्धारसँगै सडक खुलाइँदै, नेपालमा उद्धारकै लागि बाटो खोज्दै : विपद् व्यवस्थापनमा देखिएको ठूलो अन्तर

‘सरकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था’ : ओली

घर बाढीले बगायो, शिविरले सम्हाल्यो : देवीघाटका विस्थापितको पीडाबीच आशाको कथा

लाङटाङ हिमालको हिउँ चट्टान आठ महिनादेखि भासिँदै थियो, भदौ १० मा चोइटिँदा आयो भोटेकोशीमा हिमबाढी

भूकम्पबाट जोगिन बेँसी झरे, ११ वर्षपछि त्यहीँ आयो बाढी : त्रिशूली किनारका बस्तीको दुःखान्त कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu