काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा बगेर भारत पुगेको आशंका गरिएका थप चार शव उत्तर प्रदेशको कुशीनगरस्थित गण्डक (नारायणी) नदीमा फेला परेका छन्।
भारतीय राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ)को टोलीले कुशीनगरको छितौनी बाँधअन्तर्गत भेडियारी ठोकर नम्बर ३ नजिक नदीमा गस्ती गर्ने क्रममा दुई महिला र दुई पुरुषका शव तैरिरहेको अवस्थामा फेला पारेको हो। टोलीले नदीमा प्रवेश गरी चारै शव किनारमा निकालेको भारतीय अधिकारीहरूले बताएका छन्।
योसँगै पछिल्लो चार दिनमा कुशीनगरको भेडियारी क्षेत्रमा मात्रै फेला परेका शवको संख्या १३ पुगेको छ। शनिबार पनि सुरक्षा टोलीले नदीमा बग्दै गरेका तीन शव फेला पारेर निकालेको थियो। (
भारतीय अधिकारीहरूले फेला परेका शवहरू नेपालमा आएको भीषण बाढीले गण्डक नदी हुँदै भारततर्फ बगाएर ल्याएको हुनसक्ने बताएका छन्। हालसम्म फेला परेका यी शवमध्ये कुनैको पनि पहिचान हुन सकेको छैन। कुशीनगरको शवगृह भरिएपछि केही शवलाई गोरखपुर पठाइएको छ।
भारतीय सीमावर्ती अधिकारीहरूले शव फेला परेको जानकारी नेपालका सम्बन्धित जिल्लाका अधिकारीलाई औपचारिक रूपमा गराइसकेका छन्।
यसअघि भारतको महाराजगञ्ज क्षेत्रमा समेत नेपालबाट बगेका शव फेला परेका थिए, जसले भोटेकोसी बाढीको प्रभाव सीमापारसम्म पुगेको देखाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्