काठमाडौं । परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि ३९ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको जनाएको छ।
सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उपलब्ध विवरणअनुसार विदेशी नागरिकको अवस्थाबारे तथ्यांक अद्यावधिक भइरहेको जानकारी दिए।
“उपलब्ध तथ्यांकअनुसार ३९ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता छन्,” प्रवक्ता क्षेत्रीले भने।
९०३ शव फेला, ४२ सय बेपत्ता
मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९०३ वटा शव फेला पारिएको छ। अझै करिब ४ हजार २०० जना सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजारभन्दा बढी नागरिकको उद्धार गरिएको प्रवक्ता क्षेत्रीले बताए। उद्धार गरिएकामध्ये ३२३ भन्दा बढी विदेशी नागरिक रहेको मन्त्रालयले जनाएको छ।
बाढीबाट प्रभावित विदेशी नागरिकको पहिचान तथा अवस्थाबारे सम्बन्धित देशका दूतावाससँग समन्वय गरी विवरण अद्यावधिक गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।
रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सरकारले स्वदेशी तथा विदेशी नागरिकको खोज, उद्धार र व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्