काठमाडौं । कृष्णभीरमा पहिरो तथा त्रिशूली नदीको कटानका कारण राजधानीको मुख्य ‘लाइफलाइन’ पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक विभागले काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
सडक विभागका अनुसार काठमाडौं भित्रिन र राजधानीबाट बाहिरिन चारवटा वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ।
विभागले सुझाएका वैकल्पिक मार्गमा:
- त्रिभुवन राजपथ
- कान्ति राजपथ
- बीपी राजमार्ग
- हेटौँडा–कुलेखानी–फर्पिङ सडक
रहेका छन्।
विभागले काठमाडौंको आपूर्ति व्यवस्था सहज बनाउन यी वैकल्पिक मार्गबाट मालवस्तु ढुवानी गर्न सकिने जनाएको छ।
त्रिशूलीको कटानले राजमार्गमा क्षति
रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा नदीले सडकतर्फ तीव्र कटान गर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।
राजधानीसँग देशका विभिन्न भूभाग जोड्ने प्रमुख मार्ग अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।
सडक विभागले वैकल्पिक मार्ग प्रयोग गरी आवश्यक वस्तुको आपूर्ति तथा अत्यावश्यक आवागमनलाई निरन्तरता दिन आग्रह गरेको छ। साथै, अवरुद्ध सडक खुलाउने तथा यातायात सहज बनाउने प्रयास भइरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्