काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३.८९ अंकले घटेर २,५१३.४२ विन्दुमा झरेको छ। बजार परिसूचकसँगै सोमबार कारोबार रकमसमेत घटेको छ।
दिनभर घटेको बजारमा ३४७ कम्पनीका ९३ लाख २२ हजार कित्ता सेयर ३ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएको छ।
कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्सेले कारोबार बन्द हुँदासम्म सुधार लिन सकेन। सोमबार कारोबारमा आएका कम्पनीमध्ये २५३ कम्पनीको सेयर मूल्य घटेको छ।
रसुवा बाढीको असर जलविद्युत् कम्पनीमा
रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीको प्रत्यक्ष असर जलविद्युत् कम्पनीका सेयरमा देखिएको छ।
सोमबार मैलुङ खोला जलविद्युत्का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयर मूल्य १४.९८ प्रतिशतले घटेको छ।
त्यस्तै, रसुवागढी हाइड्रोपावर, माछापुच्छ्रे इक्विटी र चिलिमे हाइड्रोका सेयर मूल्य पनि १० प्रतिशतभन्दा बढीले घटेका छन्।
रसुवामा आएको बाढीले विभिन्न जलविद्युत् आयोजनाका पावरहाउस, पूर्वाधार तथा आयोजनास्थलमा ठूलो क्षति पुर्याएपछि त्यसको प्रभाव कम्पनीहरूको सेयर मूल्यमा परेको हो।
२१ कम्पनीको सेयर मूल्य बढ्यो
समग्र बजार राताम्मे भए पनि सोमबार २१ कम्पनीको सेयर मूल्य बढेको छ।
बढ्ने कम्पनीमध्ये उपकार लघुवित्त वित्तीय संस्था अगाडि रहेको छ। यसको सेयर मूल्य १३.१६ प्रतिशतले वृद्धि भएको छ।
बजारमा जलविद्युत् कम्पनीप्रतिको लगानीकर्ताको चिन्ता बढ्दा समग्र नेप्से परिसूचकमा समेत त्यसको दबाब देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्