नारायणगढ । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको पहिचान गर्न परिवारका सदस्यको डीएनए परीक्षणका लागि रगत सङ्कलन सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा एकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुरको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घ परिसरमा रगत सङ्कलन केन्द्र स्थापना गरेको हो।
चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार केन्द्र बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।
भोटेकोशी बाढीका कारण विभिन्न स्थानमा फेला परेका तर पहिचान हुन नसकेका शवको सनाखतका लागि बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना परिवार सदस्यको रगतको नमुना लिएर डीएनए परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
रगतको नमुना दिन आउने व्यक्तिले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याउन प्रहरीले आग्रह गरेको छ।
मङ्गलबारदेखि सञ्चालनमा आएको केन्द्रमा पहिलो दिन तीन जनाको रगतको नमुना सङ्कलन गरिएको थियो। बेपत्ता आफन्तको पहिचानका लागि रगत सङ्कलन कार्य आज पनि जारी रहने प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्