काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १०२ जनाको शव पोखरा लगिए पनि हालसम्म १६ जनाको मात्रै सनाखत भएको छ।
पोखरा ल्याइएका पहिचान हुन नसकेका बाँकी शवको व्यवस्थापनका लागि स्थानीय प्रशासनले प्रक्रिया अघि बढाएको छ। पोखरा महानगरपालिका–१६ स्थित सिँचाइको स्वामित्वमा रहेको जमिनमा ती शवलाई समाधिस्थ गर्ने तयारी गरिएको हो।
शव व्यवस्थापनका लागि उक्त स्थानमा अहिले तीनवटा एक्साभेटर प्रयोग गरी खाडल खन्ने काम भइरहेको बताइएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गराएको थियो। बाढीको भेलले शवहरू लामो दूरीसम्म बगाएर ल्याएकाले कतिपय शवको पहिचान गर्न कठिन भएको छ।
पहिचान हुन नसकेका शवको वैज्ञानिक पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने प्रयास भइरहे पनि शवको अवस्था बिग्रँदै गएपछि व्यवस्थापनमा चुनौती थपिएको छ।
स्थानीय प्रशासनले पहिचान हुन नसकेका मृतकका आफन्तबाट विवरण संकलन तथा आवश्यक प्रक्रिया अघि बढाउँदै आएको जनाएको छ। डीएनए परीक्षणलगायतका माध्यमबाट मृतकको पहिचान गर्ने प्रयाससमेत भइरहेको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्