काठमाडौं । दक्षिण कोरियाले बाढी प्रभावित रसुवामा खोज तथा उद्धार कार्यमा सहयोग गर्न ४४ सदस्यीय विपद् उद्धार टोली नेपाल पठाउने भएको छ। टोलीले बाढीपछि सम्पर्कविहीन भएका नौ जना दक्षिण कोरियाली नागरिकको खोजीलाई समेत प्राथमिकतामा राख्नेछ।
नेपाल सरकारले औपचारिक रूपमा सहयोगका लागि आग्रह गरेपछि दक्षिण कोरियाले कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) नेपाल पठाउने निर्णय गरेको हो।
दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार टोलीमा विदेश मन्त्रालयका तीन अधिकारी, कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) का चार जना र राष्ट्रिय अग्नि नियन्त्रक निकायका ३७ जना गरी ४४ जना रहनेछन्। टोलीसँगै पाँचवटा खोज तथा उद्धार कुकुर पनि नेपाल ल्याइनेछ।
टोलीको नेतृत्व दक्षिण कोरियाको विदेश मन्त्रालयका विकास सहयोगसम्बन्धी महानिर्देशक ली क्यु–होले गर्नेछन्। केडीआरटी मंगलबार राति दक्षिण कोरियाली वायुसेनाको केसी–३३० साइग्नस बहुउद्देश्यीय हवाई इन्धन भर्ने तथा यातायात विमानमार्फत काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ।
करिब १० दिन नेपालमा रहने टोलीले नेपाली अधिकारीहरूसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गर्नेछ। विशेषगरी रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत सम्पर्कविहीन दक्षिण कोरियाली नागरिकको खोजीलाई प्राथमिकता दिइनेछ।
माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक बाढीपछि सम्पर्कविहीन छन्। उनीहरूमध्ये छ जना दुसान एनर्बिलिटीका कर्मचारी र तीन जना कोरिया साउथ–इस्ट पावरका कर्मचारी रहेको दक्षिण कोरियाली पक्षले जनाएको छ।
नेपाली सेनासँग संयुक्त हवाई खोजीको तयारी
दक्षिण कोरियाली उद्धार टोलीले नेपाली सेनासँग संयुक्त रूपमा हवाई खोजी अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको छ।
दक्षिण कोरियाली विदेश मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय अग्नि नियन्त्रक निकायले नेपाली सेनासँग संयुक्त हवाई खोजी गर्ने विषयमा छलफल गरिरहेको छ। खोजीका क्रममा ड्रोन प्रयोग गर्ने सम्भावनाबारे समेत विचार भइरहेको छ।
यसअघि सोमबार दक्षिण कोरियाली द्रुत उद्धार टोलीले विपद् प्रभावित क्षेत्रनजिकै माथिल्लो भागमा रहेको एउटा बाँध आसपास हेलिकोप्टरमार्फत खोजी गरेको थियो। स्थलमार्गबाट राम्चे र धुन्चे क्षेत्रमा समेत खोजी अभियान सञ्चालन गरिएको थियो। तर, अहिलेसम्म उल्लेखनीय सफलता प्राप्त हुन सकेको छैन।
सुरुङबाट एउटा शव फेला
यसैबीच, सम्पर्कविहीन दक्षिण कोरियाली नागरिकहरू कार्यरत रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव फेला परेको छ। शवको पहिचान भने अझै खुलेको छैन।
नेपाली सेनालाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार चिनियाँ सुरुङ उद्धार टोली सुरुङभित्र करिब ३०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा शव फेला पारेको हो।
दक्षिण कोरियाली विदेश मन्त्रालयका एक अधिकारीले नेपालस्थित दक्षिण कोरियाली दूतावासले शवको पहिचान गर्ने काम गरिरहेको बताएका छन्।
राष्ट्रपति लीको खोजी तीव्र पार्न निर्देशन
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले मंगलबार सम्बन्धित निकायलाई सम्पर्कविहीन नागरिकको खोजी तीव्र बनाउन उपलब्ध भएसम्म थप जनशक्ति र उपकरण परिचालन गर्न निर्देशन दिएका छन्।
मन्त्रिपरिषद्को बैठकमा राष्ट्रपतिले नेपाल सरकार तथा सम्बन्धित कम्पनीका अधिकारीसँग सहकार्य गर्दै खोजी कार्य सकेसम्म छिटो अघि बढाउन निर्देशन दिएका थिए।
उनले उद्धारकर्मी, हेलिकोप्टरलगायत उपलब्ध स्रोतसाधन परिचालन गर्न सक्रिय पहल गर्न पनि निर्देशन दिएका छन्। साथै, घटनास्थलमा थप बाढी आउन सक्ने जोखिम र खराब मौसमका कारण उद्धारकर्मीको सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह गरेका छन्।
५७३ जना अझै सम्पर्कविहीन
बाढीबाट प्रभावित ११ वटा विद्युत् आयोजनामध्ये माथिल्लो त्रिशूली–१ मा सबैभन्दा धेरै व्यक्ति सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ।
इप्पानका अनुसार बाढीपछि विभिन्न आयोजनामा गरी ५७३ जना सम्पर्कविहीन छन्। हालसम्म ८७३ जनाको उद्धार तथा सम्पर्क भएको बताइएको छ।
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा फसेकाहरूमध्ये सोमबार तीन जनाको मात्र उद्धार भएको थियो। आयोजना क्षेत्रमा परामर्शदाता, ठेकेदार कम्पनी तथा आयोजनाका कर्मचारीसमेत गरी ठूलो संख्यामा मानिस कार्यरत थिए।
आयोजनासँग सम्बन्धित करिब ३०० जना सुरुङभित्र काम गर्ने जनशक्ति सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरू बाढी आएको समयमा सुरुङभित्रै थिए वा प्रवेश गर्न बाँकी थिए भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
बाढी आएको दिन आयोजनामा करिब १ हजार ४०० भन्दा बढी व्यक्ति कार्यरत रहेको हुनसक्ने अनुमान गरिएको छ।
केडीआरटीको नेपालमा १२औँ अन्तर्राष्ट्रिय परिचालन
दक्षिण कोरियाको केडीआरटी विदेशमा ठूला विपद् पर्दा खोज तथा उद्धार, चिकित्सकीय सहायता र राहतका लागि परिचालन हुने सरकारी नेतृत्वको आपत्कालीन उद्धार संयन्त्र हो।
नेपालमा हुने यो परिचालन केडीआरटीको १२औँ अन्तर्राष्ट्रिय परिचालन हुनेछ। यसअघि दक्षिण कोरियाले सन् २०२३ को टर्की भूकम्प, सन् २०१८ को लाओस बाँध दुर्घटना तथा सन् २०१५ को नेपाल भूकम्पलगायतका ठूला विपद्मा उद्धार टोली पठाएको थियो।
दक्षिण कोरियाले नेपालमा बाढीपछि जारी उद्धार तथा राहत प्रयासमा सहयोग गर्न अन्तर्राष्ट्रिय संस्थामार्फत १० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा पनि गरिसकेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्