मुगु । छायानाथ रारा नगरपालिका–८ झ्यारीमा सडक निर्माणका क्रममा यातायात सञ्चालन प्रभावित हुँदा सामान्य अवस्थामा एक–दुई घण्टामा पुगिने सदरमुकाम गमगढी पुग्न यात्रुले आठ दिनसम्म लगाउनुपर्ने अवस्था आएको छ।
सडक चौडा बनाउने क्रममा निर्माण कम्पनीले यातायात सञ्चालनका लागि पर्याप्त व्यवस्थापन नगर्दा स्थानीयवासी, यात्रु तथा सवारी चालकले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। सडक डिभिजन कार्यालय जुम्लाको प्राविधिक सहयोगमा उक्त सडक निर्माण भइरहेको छ।
छायानाथ रारा नगरपालिका–८ का समाजसेवी रतन रावलका अनुसार सडक निर्माणका क्रममा ठाउँ–ठाउँमा अवरोध हुने र अवरोध हटाउन लामो समय लाग्ने गरेका कारण सदरमुकामसँगको आवतजावत प्रभावित भएको हो।
“सडक निर्माण आवश्यक छ, तर निर्माणकै नाममा यातायात नै ठप्प हुने अवस्था सिर्जना हुनु हुँदैन,” रावलले भने।
एक घण्टाको बाटो, आठ दिनको यात्रा
सल्यानका सवारी चालक विष्णु जैसीका अनुसार सामान्य अवस्थामा झ्यारीबाट गमगढी पुग्न करिब एक घण्टा लाग्छ। तर अहिले सडकको अवस्था बिग्रिएपछि यात्रा निकै कठिन बनेको छ।
“सडक चौडा बनाउने नाममा अहिले बाटोको अवस्था निकै खराब भएको छ। पहिले सहजै एक घण्टामा पुगिने सदरमुकाम पुग्न अहिले आठ दिनसम्म लाग्ने अवस्था आएको छ,” जैसीले भने।
उनले सडक निर्माण गर्दा यात्रुलाई सास्ती दिने निर्माण कम्पनी तथा सम्बन्धित निकायलाई जिम्मेवार बनाउनुपर्ने माग गरे। सडक अवरुद्ध हुने अवस्था आए वैकल्पिक मार्गको व्यवस्था गर्न वा अवरोध तत्काल हटाउनुपर्ने उनको भनाइ छ।
घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता
जुम्लाको चन्दननाथ नगरपालिका–१ का स्थानीय रामनारायण उपाध्यायका अनुसार सडक अवरुद्ध हुँदा सवारीसाधन नियमित सञ्चालन हुन सकेका छैनन्। कतिपय स्थानमा सडकको अवरोध पार गर्न यात्रुले घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था रहेको उनले बताए।
सडक अवरुद्ध हुँदा खाद्यान्न, निर्माण सामग्री तथा अन्य अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित भएको छ।
छायानाथ रारा नगरपालिका–७ की जुनु शाहीका अनुसार गाउँबाट सदरमुकाममा कृषि उपज लैजान तथा सदरमुकामबाट दैनिक उपभोग्य सामग्री गाउँमा ल्याउन कठिन भएको छ।
बिरामी ओसार्नसमेत समस्या
सडक निर्माणका क्रममा यातायात व्यवस्थापन नहुँदा स्वास्थ्य उपचारका लागि आवतजावत गर्ने नागरिकसमेत प्रभावित भएका छन्।
छायानाथ रारा नगरपालिका–४ का स्थानीय मणिचन्द्र भामले सडक अवरुद्ध हुँदा बिरामीलाई सदरमुकाम ल्याउन तथा अन्य जिल्लाका अस्पतालसम्म लैजान समस्या हुने गरेको बताए।
स्थानीयका अनुसार सडक निर्माण आवश्यक भए पनि निर्माणका क्रममा सर्वसाधारणको आवतजावतलाई सहज बनाउने वैकल्पिक व्यवस्था नहुँदा समस्या झन् गम्भीर बनेको हो।
एक करोड ८२ लाखको योजना
सडक डिभिजन कार्यालय जुम्लाका साइट इन्जिनियर दीपेन्द्र चौधरीका अनुसार निर्माण व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायत कारण देखाउँदै असारदेखि मात्र निर्माण कार्य सुरु गरेका हुन्।
उक्त सडक खण्डमा डबल कटिङ, ग्याबिन वाल, सिमेन्टेट वाल तथा २७ मिटर ग्राभेल गर्ने काम रहेको उनले जानकारी दिए।
योजनाको लागत एक करोड ८२ लाख रुपैयाँ रहेको छ। हालसम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर चौधरीले बताए।
वर्षा हुँदा चार–पाँच दिनसम्म सडक बन्द
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार झ्यारी खोलामा वर्षा भएपछि सडक चारदेखि पाँच दिनसम्म अवरुद्ध हुने गरेको छ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुखसँग समन्वय गरेर तत्काल सडक खुलाउन जेसीबी परिचालन गर्न पटक–पटक आग्रह गरिएको उनले बताए।
“नागरिकको सहजताका लागि तत्काल जेसीबी परिचालन गरी सडक खुलाउन सडक डिभिजन कार्यालयसँग पटकपटक समन्वय गरेको छु,” भण्डारीले भने, “सडक अवरोधको खबर पाएपछि म आफैँ पनि पटकपटक उक्त स्थानमा पुगेर अनुगमन र आवश्यक निर्देशन दिएको छु।”
‘निर्माण पनि होस्, यातायात पनि नरोकियोस्’
स्थानीयवासीले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिनुपर्ने भए पनि यातायात अवरुद्ध हुने अवस्था आउन नदिन निर्माणस्थलमा आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राख्न माग गरेका छन्।
उनीहरूले अवरोध भएको अवस्थामा तत्काल सडक खुलाउने व्यवस्था गर्न, आवश्यक परे वैकल्पिक मार्ग सञ्चालन गर्न तथा निर्माण कार्यको नियमित अनुगमन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
स्थानीयको मुख्य माग एउटै छ—सडक पनि बनोस्, तर सडक बनाउने क्रममा नागरिकको दैनिक जीवन नै ठप्प नहोस्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्