काठमाडौं । रसुवागढी नेपालको उत्तरी सीमामा रहेको एउटा व्यापारिक नाका मात्र थिएन। पछिल्ला वर्षहरूमा यो चीनसँगको व्यापार, जलविद्युत्, रोजगारी र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको थियो। तर भदौ १० गते बिहान आएको भोटेकोशीको विनाशकारी बाढीले केही घण्टामै यो भूगोलको स्वरूप बदलिदियो।
बाढीले रसुवागढीको व्यापारिक संरचनादेखि सडक, पुल, बस्ती र जलविद्युत् आयोजनासम्म तहसनहस बनायो। सुरुवातमा यो रसुवा, नुवाकोट र धादिङको स्थानीय विपत्ति जस्तो देखिए पनि बेपत्ता हुनेहरूको सूची बढ्दै गएपछि यसको प्रभाव देशका सातै प्रदेशसम्म फैलिएको देखिएको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तथ्यांकअनुसार बाढीमा ९०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब ४ हजार मानिस अझै सम्पर्कविहीन छन्। प्रभावितमध्ये मजदुरदेखि इन्जिनियर, प्राविधिक, व्यापारी, चालक, सुरक्षाकर्मी तथा तीर्थयात्रीसम्म छन्।
रसुवागढीमा पुगेका थिए देशभरका मानिस
रसुवाको कालिका गाउँपालिका प्रवक्ता सन्दीप पौडेलका अनुसार रसुवागढी पछिल्ला वर्षमा व्यापारिक तथा रोजगारीको प्रमुख केन्द्र बनेपछि देशका लगभग सबै भूभागका मानिस यहाँ कुनै न कुनै कामका लागि पुग्ने गरेका थिए।
“हाइड्रोमा काम गर्ने, ट्राभल गर्ने, भन्सारमा काम गर्ने, मजदुर, तीर्थयात्री, ट्रक चालक पर्नुभयो,” पौडेलले भने, “सेना, प्रहरी र सशस्त्रसहित सबैखाले मानिस बाढीमा पर्नुभएको छ। यस आधारमा हेर्दा पूरै नेपाललाई असर गरेको छ।”
उनका अनुसार बाढीले दक्ष युवा जनशक्तिमाथि पुर्याएको क्षति अझ गम्भीर छ।
“दक्ष युवाहरू पर्नुभयो, जुन देशको श्रमबजारका लागि गम्भीर धक्का हो,” पौडेलले भने।
जलविद्युत् आयोजनामा कार्यरत युवाको ठूलो क्षति
रसुवा र नुवाकोटमा पछिल्ला वर्षहरूमा दर्जनौँ जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनमा छन्। ती आयोजनामा देशका विभिन्न जिल्लाबाट इन्जिनियर, प्राविधिक, कर्मचारी र मजदुर पुगेका थिए।
बाढीले आयोजनाका क्याम्प, पहुँचमार्ग तथा सुरुङ प्रभावित बनाएपछि ठूलो संख्यामा कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद् प्राधिकरणका अनुसार रसुवामा मात्रै १२ वटा जलविद्युत् आयोजनासँग सम्बन्धित कर्मचारी तथा कामदार बेपत्ता भएको विवरण आएको छ।
आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार आफ्नो पालिकाभित्रका तीनवटा जलविद्युत् आयोजनामा कार्यरत दक्ष इन्जिनियरसमेत बाढीमा परेका छन्।
“पालिका भरिकालाई बाढीले प्रभावित गर्यो। अब कयौँका रोजगारी गुमे, कतिका आफन्त बगे,” उनले भने, “यो अपुरणीय क्षति हो।”
यसले तत्कालीन मानवीय संकटसँगै नेपालको जलविद्युत् क्षेत्रको दक्ष जनशक्ति, आयोजना सञ्चालन र निर्माण क्षमतामाथि समेत दीर्घकालीन असर पार्न सक्ने देखिएको छ।
व्यापारिक नाका भएकाले मधेसदेखि हिमालसम्मका नागरिक प्रभावित
बाढीको प्रभाव बागमती प्रदेशमा सबैभन्दा बढी देखिए पनि प्रभावित व्यक्तिहरूको भौगोलिक दायरा निकै फराकिलो छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरका अनुसार प्रदेशका १३ वटै जिल्लाका मानिस रसुवाको बाढीमा परेका छन्।
रसुवागढी व्यापारिक नाका हुनु, गोसाइँकुण्डको मेला चलिरहेको समय हुनु तथा मानसरोवर–कैलाश जाने मार्गसमेत यही क्षेत्रबाट हुने भएकाले विभिन्न जिल्लाका नागरिक त्यहाँ पुगेका थिए।
“यो व्यापारिक नाका भयो। गोसाइँकुण्डको मेला यही बेला लाग्यो, यसमा आउने तीर्थयात्री धेरै पर्नुभयो। मानसरोवर कैलाश जाने बाटो पनि भयो। त्यही भएर १३ वटै जिल्लाका मानिस बाढीमा पर्नुभएको छ,” मुख्यमन्त्री थापामगरले भने।
मधेसका १६२ जना सम्पर्कविहीन
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोका अनुसार प्रदेशका आठै जिल्लाबाट रसुवाको बाढीमा परेका १६२ जना सम्पर्कविहीनभएको विवरण आएको छ।
“त्यसमा प्राविधिक, इन्जिनियर, कर्मचारी र मजदुर पनि छन्,” उनले भने।
सर्लाहीका तीनजनाको शवसमेत फेला परिसकेको उनले जानकारी दिए।
प्रदेश सरकारले प्रभावितका लागि ७ हजार कम्बल र ७ सय टेन्ट व्यवस्थापन गर्न प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने तयारी गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत तयारी अवस्थामा राखिएको छ।
सुदूरपश्चिमका पनि सयभन्दा बढी बेपत्ता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टका अनुसार प्रदेशका नौवटै जिल्लाका सयभन्दा बढी नागरिक रसुवाको बाढीमा हराइरहेका छन्।
“बाढीको ताण्डवबाट हाम्रो प्रदेशका थुप्रै होनाहार युवाहरूको जीवन समाप्त हुनेदेखि बेपत्ता भएका छन्,” उनले भने, “त्यो कुराले प्रदेश सरकार मर्माहत छ।”
प्रदेश सरकारले पीडित परिवारसँग समन्वय गर्न हटलाइन सञ्चालनमा ल्याएको छ भने स्वास्थ्यकर्मी र औषधिको टोली तयारी अवस्थामा राखिएको जनाएको छ।
कर्णालीका १४५ जना हराइरहेको दाबी
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीका अनुसार कर्णालीका १० वटै जिल्लाका मानिस रसुवाको बाढीमा प्रभावित भएका छन्।
उनका अनुसार हालसम्म १४५ जना सम्पर्कविहीन रहेको विवरण आएको छ। सल्यान र सुर्खेतका एक–एक युवाको शव फेला परिसकेको छ।
“केही इन्जिनियर परेको जानकारी आएको छ। व्यापार र कामको सिलसिलामा गएका अधिकांश युवा पर्नुभएको छ,” मुख्यमन्त्री शाहीले भने।
गण्डकीबाट करिब २०० जना बेपत्ता
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनका अनुसार प्रदेशका सबै जिल्लाका मानिस रसुवाको बाढीमा परेका छन्।
प्रदेशबाट करिब २०० जना बेपत्ता भएको प्रारम्भिक विवरण आएको छ।
“त्यसमध्ये अधिकांश हाइड्रोमा काम गर्न गएका छन्,” उनले भने, “कतिपय जनैपूर्णिमाको मेला भर्न गोसाइँकुण्ड जाँदै गरेको र केही मानसरोवर गएकाहरू बेपत्ता भएको परिवारले भन्नुभएको छ।”
कोसी र लुम्बिनी प्रदेशका नागरिकसमेत बाढीमा परेको सम्बन्धित प्रदेशका अधिकारीहरूले जनाएका छन्।
एउटा जिल्लाको विपत्ति, देशभरका परिवारको पीडा
रसुवागढीमा आएको बाढीले भौगोलिक रूपमा सीमित क्षेत्रलाई मात्र प्रभावित गरेको देखिए पनि यसको मानवीय प्रभाव भने राष्ट्रिय बनेको छ।
कोही चीनसँग व्यापारका लागि पुगेका थिए, कोही जलविद्युत् आयोजनामा रोजगारीका लागि। कोही ट्रक चलाउँदै थिए, कोही भन्सारमा काम गर्दै थिए। कोही धार्मिक यात्रामा थिए भने कोही आफ्ना परिवारका सदस्यसँग भेटघाटका लागि पुगेका थिए।
बाढीले उनीहरूको जीवन मात्र बगाएन, देशका विभिन्न कुनामा रहेका परिवारको आशा, प्रतीक्षा र भविष्यसमेत अनिश्चित बनाइदिएको छ।
सबैभन्दा ठूलो चिन्ता भने अझै सुरुङ, भग्नावशेष र बाढीले पुरिएका क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको हो।
‘दक्ष युवा जनशक्तिको क्षति देशकै क्षति हो’
रसुवाको कालिका गाउँपालिकाका प्रवक्ता पौडेलले अहिलेको प्राथमिकता बेपत्ताको खोजी र प्रभावितको उद्धार भए पनि विपत्तिले दिएको दीर्घकालीन पाठबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको बताए।
“युवा जनशक्ति थियो, त्यो पूरै नष्ट भयो,” उनी भन्छन्, “रसुवा यति रोइरहेको छ, थप रुनु नपरोस्।”
बाढीले बगाएको सडक, पुल र भवन पुनर्निर्माण गर्न सकिन्छ। जलविद्युत् आयोजना फेरि बनाउन सकिन्छ। व्यापारिक संरचना पनि पुनःनिर्माण हुन सक्छन्। तर ज्यान गुमाएका दक्ष इन्जिनियर, प्राविधिक, मजदुर र युवा जनशक्तिको क्षति भने तत्काल पूर्ति गर्न सकिँदैन।
त्यसैले भोटेकोशी बाढी अब केवल रसुवाको विपत्ति रहेन—यो सातै प्रदेशका परिवारसम्म पुगेको राष्ट्रिय मानवीय संकट बनेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्