ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१२ घण्टा जंगलमा भौँतारिए, पसिना निचोरेर पिए, बिस्कुट खाए– यसरी बाँचे शिवु


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ९ : ३५   बजे

काठमाडौं । सोमबार बिहान शिक्षण अस्पताल, महाराजगञ्जको भित्तामा टाँसिएका बाढीमा बेपत्ता व्यक्तिका तस्बिर हेरिरहेका थिए– ४४ वर्षीय शिवु गिरी। भोटेकोसी बाढीबाट संयोगले बाँचेका उनी ती तस्बिरमा आफ्नो फोटो नदेखिए पनि खुसी देखिँदैनथे।

किनकि उनका धेरै सहकर्मी अझै बेपत्ता छन्।

‘म त बाँचेर आएँ, मेरा धेरै साथीहरू अझै बेपत्ता छन्,’ गिरीले सुस्केरा हाल्दै भने।

दाङको घोराही–१३ घर भएका गिरी विगत १२ वर्षदेखि जलविद्युत् क्षेत्रमा काम गर्दै आएका छन्। नेपाली सेनाको जमदारबाट २०७१ सालमा अवकाश पाएपछि उनी जलविद्युत् आयोजनामा काम गर्न थालेका थिए। उनी माथिल्लो त्रिशूली–मैलुङ २१६ मेगावाट आयोजनामा ल्याब टेक्निसियनका रूपमा कार्यरत थिए।

ड्युटीमा निस्किएका थिए, बाटोमै आयो विपत्ति

अन्य दिनझैँ शिवु र उनका दुई साथी आफू बसेको क्याम्पबाट बिहान करिब ७ः३० बजे ड्युटीका लागि आयोजनातर्फ निस्किएका थिए।

तर आयोजनाबाट करिब पाँच मिनेट टाढा पुग्दा अचानक बाटोमा सुख्खा पहिरो खस्यो। बाटो अवरुद्ध भएपछि उनीहरूले क्याम्पमै फर्किने निर्णय गरे र कार्यालयमा काममा आउन नसक्ने जानकारी गराए।

उनीहरू फर्किंदै थिए।

क्याम्प पुग्नुअघि नै शिवुले धुलोको मुस्लोसहित जमिनै काँप्ने गरी विशाल बाढी आएको देखे। बाढीले ठूलो फलामे पुलसमेत बगाउँदै ल्याइरहेको थियो।

त्यो दृश्य देखेपछि उनी गाडीबाट हाम फालेर उकालोतर्फ दौडिए। केही माथि पुगेपछि साथीलाई फोन गरेर बाढी आएको जानकारी दिए। साथीहरू पनि ब्याग बोकेर उनी भएकै ठाउँतर्फ आए। त्यहाँ पुग्दा एक साथीलाई बाढीको छालले समेत छोइसकेको थियो।

तीन घण्टा हेलिकप्टर कुरे, त्यसपछि जंगल पसे

बाढीबाट जोगिएर केही माथि पुगेपछि उनीहरूले सेनाको हेलिकप्टर आएर उद्धार गर्छ कि भनेर करिब तीन घण्टा कुरे। तर आफूहरू बसेको ठाउँमा हेलिकप्टर आउन नसक्ने देखिएपछि उनीहरू उकालो लागे।

लगातार १०–१२ घण्टा हिँड्दा पनि गाउँ भेटिएन।

थकानले शिवुको शरीरले साथ छोड्यो।

‘१२ घण्टा हिँड्दा पनि मैले गाउँ भेट्न सकिनँ। म त्यहीँ थला परेर बसेँ। अब बाँच्न सक्दिनँ भन्ने भइसकेको थियो।’

साथीहरू भने गाउँ खोज्दै अझै उकालो लागे। शिवु भने अघि बढ्न सकेनन्। अन्ततः सल्लाको रुखमुनि रहेको ओढारमा रात बिताउने निर्णय गरे।

जंगलको अँध्यारोमा एक्लो साथी– एउटा कुकुर

१०–१२ घण्टाको हिँडाइले थकित शिवु ओढारमा आँखा बन्द गरेर बसेका थिए। त्यही बेला कताबाट एउटा कुकुर उनी भएको ठाउँमा आइपुग्यो।

घना जंगलको अँध्यारो रातमा त्यो कुकुर नै उनको एक मात्र साथी बन्यो।

भोक र तिर्खाले शिवु व्याकुल थिए। पानी कतै थिएन। अन्ततः उनले शरीरमा आएको पसिना लुगाबाट निचोरेर पिए।

साथीले दिएको थिन आरारोट बिस्कुटको एउटा प्याकेट थियो। त्यसमा रहेका तीन पत्ता बिस्कुटमध्ये उनले केही बेलुका खाए र तीन पत्ता बिहानका लागि बचाएर राखे।

रात गहिरिँदै जाँदा पानीको अभावले उनको अवस्था झन् कठिन भयो।

त्यसपछि उनले भगवानसँग प्रार्थना गर्न थाले–

‘हे भगवान्! पानी पारिदेऊ, नत्र म मर्छु।’

केही समयपछि झरी पर्न थाल्यो। ओढारको छेउबाट पानीको धारा झर्न थाल्यो। उनले बोतलमा पानी भरेर पिए।

‘पानी खाएपछि अब चाहिँ म बाँच्छु भन्ने भयो।’

बिहान पानी अमला र बिस्कुटको भर

रातभर झरीमा भिजेका शिवु बिहान उज्यालो हुन थालेपछि उद्धार हुने ठाउँसम्म पुग्ने सोचमा थिए।

सैन्य जीवन बिताइसकेका उनलाई जंगलमा पाइने पानी अमलाले शक्ति दिने थाहा थियो। बिहान करिब ४ बजेपछि उज्यालो छिर्न थालेपछि उनले पानी अमला उखेलेर खाए।

बेलुका बचाएर राखेको तीन पत्ता बिस्कुट पनि बोतलमा जम्मा गरेको पानीसँग खाए।

तर गाउँ कति टाढा छ भन्ने उनलाई थाहा थिएन।

अन्ततः उनले उकालो होइन, ओरालो झर्ने निर्णय गरे।

खोलातर्फ झरे, आगो बालेर सेनालाई संकेत दिए

‘जहाँ घटना घटेको छ, त्यहाँ सेनाको हेलिकप्टर उद्धारका लागि आउँछ भनेर म उकालो लाग्नुभन्दा तलै झर्छु भनेर खोलातर्फ झरेँ।’

अघिल्लो रात आफूलाई साथ दिएको कुकुर पनि उनको पछि लाग्यो।

बिहान करिब १० बजे उनी बाढी आएको स्थानमा पुगे। उनले आफूसँग भएको लाइटरले आगो बालेर सेनाको हेलिकप्टरलाई उद्धारको संकेत दिए।

करिब ११ बजे हेलिकप्टरले उनलाई देख्यो।

रातो हेलिकप्टरले तीन पटक उद्धारको प्रयास गर्‍यो। तर जमिन अत्यधिक हिलो भएकाले हेलिकप्टर गाडिन सक्ने अवस्था थियो।

शिवु चिन्तित भए।

उद्धार सम्भव नभएपछि उनले हेलिकप्टरतर्फ इसारा गर्दै ‘खाना र पानी फालिदेऊ’ भन्ने संकेत गरे।

कम्मरसम्म हिलोमा गाडिएर हेलिकप्टरमा पुगे

करिब आधा घण्टापछि सेनाको हेलिकप्टर फेरि आयो।

हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था थिएन। तर त्यसलाई देखेपछि शिवुको अनुहारमा आशा पलायो। उनी हेलिकप्टरतर्फ अघि बढे।

उनी कम्मरसम्म हिलोमा गाडिए।

सेनाले दिएको निर्देशनअनुसार हेलिकप्टरको पंखाले नछोओस् भनेर उनले टाउको झुकाए। त्यसपछि हिलोबाट बिस्तारै खुट्टा निकाले, सुतेर तेर्सो परे र आफूभन्दा करिब चार मिटर टाढा रहेको हेलिकप्टरसम्म बल्लतल्ल पुगे।

‘हेलिकप्टरमा चढेपछि अब चाहिँ म बाँचेँ भन्ठानेँ।’

आफू बचे, तर कुकुरलाई बचाउन सकेनन्

उद्धारका क्रममा शिवुको पछि लागेको कुकुर पनि हिलोमा फस्यो। शिवुले सेनालाई कुकुरलाई पनि उद्धार गरिदिन आग्रह गरे।

तर सेनाले कुकुरलाई हेलिकप्टरमा राख्न सकेन।

हेलिकप्टर उड्नुअघिसम्म कुकुरले शिवुलाई एकोहोरो हेरिरह्यो। अन्ततः हेलिकप्टर उड्यो र कुकुर फेरि जंगलतर्फ फर्कियो।

अस्पतालमा पुगेपछि पनि मन साथीमै

सेनाको उद्धारपछि शिवुले सुरक्षाकर्मीको फोनबाट दाङमा रहेका परिवारसँग सम्पर्क गरे।

उनी तत्काल काठमाडौं आउन चाहन्थे। तर सामान्य अवस्था रहेका उद्धार गरिएका व्यक्तिलाई त्रिशूलीको होल्डिङ सेन्टरमा राखिने भएपछि उनी त्यहीँ बसे।

त्यहाँ पुगेपछि उनले आफूसँगै जंगलतर्फ भागेर बचेका साथीहरूबारे पनि खबर पाए। उनीहरू थप करिब पाँच घण्टा हिँडेर गाउँ पुगेका र सुरक्षित रहेकोजानकारी पाए।

त्रिशूलीको होल्डिङ सेन्टरमा सामान्य स्वास्थ्य परीक्षणपछि शिवु भदौ १२ गते साँझ काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगे।

शरीरमा बाढी र जंगलमा बिताएको रातको थकान अझै छ। तर अस्पतालको भित्तामा टाँसिएका बेपत्ता व्यक्तिका तस्बिर हेर्दा उनको मन अझ भारी हुन्छ।

किनकि उनी बाँचेका छन्, तर उनीसँगै काम गर्ने धेरै साथीहरू अझै फर्किएका छैनन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

भोटेकोशी बाढीपीडितलाई अर्को पीडा : काठमाडौंमा किरिया बस्ने ठाउँकै अभाव

त्रिशूली बजारका ४०० घरमा बाढीको क्षति, ७२ जना अझै बेपत्ता

बालबालिकालाई बचाएर सुरक्षित पठाउने प्रधानाध्यापक आफैं बेपत्ता

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो, ३ हजार ९२५ सम्पर्कविहीन

विद्यालय पुगेका ३५० बालबालिका जोगिए, बाटोमै हराए २०० विद्यार्थी : होल्डिङ सेन्टरमा चार वर्षीय बालक सोधिरहन्छन्– ‘मेरो आमा खोइ?’

‘भोटेकोशी बाढी होइन, हिमाली सुनामी हो’ : विश्व मञ्चमा नेपालले मुद्दा उठाउन विज्ञको सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu