काठमाडौं । नेपाल प्रहरीले भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकका परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
शवको पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये नजिकका आफन्तबाट डीएनए नमुना संकलन गर्न लागिएको प्रहरीले जनाएको छ।
नेपालमा रहेका आफन्तले कहाँ नमुना दिने?
नेपालमा रहेका आफन्तले ताजा रगतको नमुना (फ्रेस ब्लड) उपलब्ध गराउनुपर्नेछ। त्यसका लागि दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
विदेशमा रहेका आफन्तका लागि यस्तो व्यवस्था
विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तले आफू रहेको देशको आधिकारिक फरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङगराउनुपर्नेछ।
त्यसरी प्राप्त डीएनए प्रोफाइलको सफ्ट कपी शव तथा शरीरका अंगसँग तुलना गरी पहिचान गर्न नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ।
डीएनए प्रोफाइल पठाउँदा निम्न विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्ने प्रहरीले जनाएको छ :
- बेपत्ता व्यक्तिको पूरा नाम र राष्ट्रियता
- पासपोर्ट वा परिचयपत्रको विवरण
- बेपत्ता भएको मिति र स्थान (थाहा भएसम्म)
- आधिकारिक फरेन्सिक प्रयोगशालाबाट प्राप्त डीएनए प्रोफाइल रिपोर्ट
- डीएनए नमुना दिने व्यक्ति र बेपत्ता व्यक्तिबीचको नाता खुल्ने विवरण
शव पहिचानमा डीएनए परीक्षण महत्वपूर्ण
बाढीपछि विभिन्न स्थानमा शव तथा शरीरका अंगहरू फेला पर्ने क्रम जारी रहेकाले तिनको पहिचान चुनौतीपूर्ण बनेको छ।
यस्तो अवस्थामा डीएनए परीक्षणमार्फत वैज्ञानिक रूपमा शवको पहिचान गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न तथा बेपत्ता व्यक्तिको अवस्थाबारे यकिन गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ।
डीएनए नमुना तथा पहिचानसम्बन्धी थप जानकारीका लागि सम्पर्क अधिकृत प्रहरी निरीक्षक शम्भुबहादुर केसीलाई ९८४१६१६०९५८ मा सम्पर्क गर्न सकिने नेपाल प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्