काठमाडौँ :“टिमुरे बजारमा पुगेर खाजा खाने योजना बनाएका थियौँ । तर केही मिनेटपछि त्यही बाटो युद्धभूमिजस्तो देखियो । चारैतिर धुलोको मुस्लो, मानिसको चिच्याहट, भागदौड र कोलाहल थियो । त्यो क्षण सम्झँदा अहिले पनि शरीर सिरिङ्ग हुन्छ।”
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट जोगिएका सेवानिवृत्त सैनिक राजेन्द्र थापाको यो अनुभव केवल एउटा व्यक्तिको कथा होइन । यो भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट मृत्युको मुखबाट फर्किएका सयौँ मानिसको साझा पीडा हो ।
बाढीले घर, सडक, पुल र बजार मात्र बगाएन, बाँचेकाहरूको मनमा जीवनभर नमेटिने त्रास पनि छाडेको छ ।
“मैले पहिलो पटक जीवन र मृत्युबिचको दुरी कति छोटो हुन्छ भन्ने अनुभूति पाएँ,” थापाले भने ।
थापा साथीहरूसँग रसुवातर्फ जाँदै थिए । बाटोमा सामान्य चहलपहल थियो । केही मिनेटपछि त्यही ठाउँ विनाशको केन्द्र बन्छ भन्ने कल्पनासमेत कसैले गरेका थिएनन् ।
अचानक ठूलो आवाज सुनिन थाल्यो । उत्तरतर्फ हेर्दा धुलोको मुस्लो आकाशतर्फ उठिरहेको थियो ।
“हामीभन्दा अगाडि मोटरसाइकलमा गएका साथीहरूलाई रोक्न खोज्यौँ । तर उहाँहरू अगाडि बढिसक्नुभएको थियो,” थापाले सम्झिए ।
स्थिति असामान्य देखिएपछि उनीहरू सडक छाडेर माथितिर दौडिए । केही सेकेन्डमै उनीहरूले लिएको निर्णय जीवन र मृत्युबीचको अन्तर बन्यो ।
“हामी सिधै उकालोतिर भाग्यौँ । पछि फर्केर हेर्दा तलको दृश्य युद्ध जस्तो थियो । मानिसहरू कराइरहेका थिए, भागिरहेका थिए । हिलो, धुलो र पानीले सबै ढाकेको थियो,” उनले भने ।
उनका अनुसार त्यहाँबाट बाँचेर निस्कन सफल भएका मानिसहरू भाग्यले मात्र बाँचेका थिए ।
‘केही मिनेटअघि चिया खाएको होटल नै रहेन’
अर्का प्रत्यक्षदर्शी अच्युतप्रसाद सुवेदीका लागि पनि त्यो दिन जीवनको सबैभन्दा त्रासदीपूर्ण क्षण बन्यो ।
वेत्रावतीमा स्नान गरेर रसुवातर्फ उकालो लागेका सुवेदीले सुरुमा ठूलो आवाज मात्र सुनेका थिए । तर केही मिनेटमै त्यो आवाज विनाशको संकेत बन्यो ।
“उकालो चढ्न थालेको तीन मिनेट पनि भएको थिएन । मेरो आँखाअगाडि बाढीले सबै कुरा बगायो,” उनले भने ।
केही मिनेटअघि मात्र चिया खाएको होटल, वरपरका पसल र बजार हेर्दाहेर्दै पानीको भेलमा हराए ।
“सेकेन्डको महत्व कति हुन्छ भन्ने कुरा जीवनमा पहिलो पटक बुझेँ । केही क्षण यताउता भएको भए हामी पनि त्यहीँ हुन्थ्यौँ,” सुवेदीले भने ।
बाढीसँगै सञ्चार सम्पर्क पनि टुट्यो । मोबाइलमा नेटवर्क आएन । परिवार र आफन्तसँग सम्पर्क गर्ने कुनै उपाय रहेन ।
“एक्कासि नेटवर्क गयो । फोन लागेन । मानौँ संसारसँगको सम्पर्क नै टुट्यो । त्यसपछि केवल पानीको गर्जन र मानिसहरूको चिच्याहट मात्र सुनिन्थ्यो,” उनले सम्झिए ।
केही समयपछि चिच्याहट पनि रोकियो । बाँकी रह्यो त केवल खोलाको गर्जन ।
‘त्यो त हिमाली सुनामीजस्तै थियो’
काठमाडौँका मातृका नेपालले देखेको बाढीको दृश्यलाई शब्दमा बयान गर्न कठिन छ ।
उनका केही साथी खोलामै बगे । उनी भने केही मिटर माथि भएकाले जोगिए ।
“पानी खोलाभन्दा सयौँ मिटर माथि आएको थियो । मैले यति ठूलो जलराशि कहिल्यै देखेको थिइनँ,” नेपालले भने ।
उनलाई त्यो दृश्यले चलचित्रमा देखिने सुनामीको सम्झना गरायो ।
“चलचित्रमा सुनामी देखेको थिएँ । त्यो दिन प्रत्यक्ष त्यस्तै दृश्य देखेँ । मलाई त यो हिमाली सुनामी नै लाग्यो,” उनले भने ।
भोटेकोशीको बाढीको तीव्रता यति भयावह थियो कि नदीको सामान्य बहाव क्षेत्रभन्दा निकै माथिसम्म पानी र गेग्रान पुगेको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।
बाँचिए, तर साथीहरू कहाँ छन् ?
मातृका नेपालका लागि आफू बाँच्नु मात्र खुसीको कुरा बनेन । अहिले उनका अगाडि अर्को पीडादायी प्रश्न छ—सँगै गएका साथीहरू कहाँ छन् ?
“परिवारका सदस्यहरूले ‘हाम्रा मान्छे कहाँ छन् ?’ भनेर सोध्न थाल्नुभएको छ । मसँग उत्तर छैन,” उनले भावुक हुँदै भने ।
उनी आफैँ भने भिरमा उम्रिएको एउटा लहरामा अड्किएर जोगिएका थिए ।
“सायद त्यो लहरा नभएको भए म पनि बगिसक्थेँ,” उनले भने ।
बाढीले उनलाई प्रकृतिको शक्तिका अगाडि मानिसको सामर्थ्य कति कमजोर हुन्छ भन्ने अनुभूति गराएको छ ।
“प्रकृतिले चाहेमा हामी मेटिन कति पनि समय लाग्दो रहेनछ,” नेपालले भने ।
केही सेकेन्डको निर्णय
भोटेकोशी–त्रिशूलीको बाढीपछि बाँचेकाहरूका कथा सुन्दा एउटा साझा तथ्य देखिन्छ—विपत्तिको समयमा केही सेकेन्डको निर्णयले जीवनको दिशा बदल्न सक्छ ।
कसैले धुलोको मुस्लो देखेर खतरा महसुस गरे र उकालो दौडिए । कसैले जोखिम नबुझेर अघि बढे । कोही पानीको भेलमा परे, कोही रूख, लहरा वा भिरको सहाराले बाँचे ।
आज उनीहरू बाँचेर आफ्ना कथा सुनाइरहेका छन् । तर ती कथाभित्र आफ्ना साथी, आफन्त र परिचितको खोजीको पीडा पनि मिसिएको छ ।
भोटेकोशीको त्यो गर्जन केवल पानीको आवाज थिएन । त्यो प्रकृतिको असीम शक्तिको चेतावनी थियो ।
एकैछिनमा सडक नदी बन्यो, बजार भग्नावशेषमा बदलियो र सयौँ परिवारको जीवनको कथा फेरियो । बाँचेकाहरूका आँखामा अहिले पनि त्यही दृश्य छ—धुलोको मुस्लो, पानीको गर्जन र मृत्युबाट उम्किन दौडिरहेका मानिसहरू ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्