काठमाडौँ, भदौ १६ गते । लगातारको वर्षासँगै आएको बाढी तथा पहिरोका कारण काठमाडौँ उपत्यका र आसपासका जिल्लाका विभिन्न मुख्य सडकखण्ड अवरुद्ध भएका छन् ।
उपलब्ध विवरणअनुसार ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ ।
ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा पहिरो खसेपछि कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ ।
काभ्रेको खुकुटे–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमका कारण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । रोशी गाउँपालिका क्षेत्रमा बीपी राजमार्गको यातायातसमेत प्रभावित भएको छ ।
सिन्धुपाल्चोकको चौतारा क्षेत्रमा अरनिको राजमार्गअन्तर्गत त्रिपुरासुन्दरी–मेलुङ तथा स्याउबारी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।
यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ शिखरबेँसी र बेलकोटगढी क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीर तथा गजुरी गाउँपालिका–२ घैराभीर क्षेत्रमा पहिरो खसेपछि पृथ्वी लोकमार्ग पूर्णरूपमा बन्द भएको छ ।
सडक अवरुद्ध हुँदा सम्बन्धित क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । वर्षाका कारण थप सडकमा समेत अवरोध हुनसक्ने भएकाले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्बन्धित निकायबाट जारी हुने सूचनामा ध्यान दिन आग्रह गरिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्