हेटौँडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले ‘वान वे’ प्रणाली लागू गरेको छ।
प्रशासनले बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न मंगलबारदेखि लागू हुने गरी नयाँ यातायात व्यवस्था गरेको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौँ जाँदा त्रिभुवन राजपथ र काठमाडौँबाट हेटौँडा फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।
कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधनका लागि पनि एकतर्फी रुट तोकिएको छ। हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्नेछ भने काठमाडौँतर्फ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्नेछ।
इन्धन र भारी सवारीलाई बेलिब्रिज प्रयोगमा रोक
मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारीसाधनलाई बेलिब्रिज प्रयोग गर्न रोक लगाइएको छ।
यस्ता सवारीसाधनलाई बेलिब्रिजसँगै रहेको डाइभर्सन प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।
विपद्को अवस्था रहेकाले प्रशासनले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न आग्रह गरेको छ। सवारी चालकलाई आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन अनिवार्य रूपमा पालना गर्न भनिएको छ।
कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढेको सवारी चापलाई व्यवस्थित गरी आवागमन सहज बनाउन ‘वान वे’ प्रणाली लागू गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्