बागलुङ । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा वडा कार्यालयले घरदैलोमै पुगेर एकीकृत सेवा प्रदान गरेको छ । सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि स्वास्थ्य परीक्षण, औषधि वितरण, कृषि तथा पशुसेवासम्बन्धी परामर्शसम्मका सेवा वडा कार्यालयले नागरिकको घरमै पुगेर दिएको हो ।
वडाध्यक्ष विष्णु आचार्यको नेतृत्वमा गएको टोली शनिबार दीर्पादेवी शर्माको घर पुगेको थियो । एकल महिला रहेकी शर्माको सामाजिक सुरक्षा भत्ता नवीकरण वडा सचिव सुरेश वलीले घरकै आँगनमा ल्यापटपमार्फत गरिदिए ।
त्यसपछि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराका प्रमुख चिकित्सक डा. सुजन शर्माले उनको स्वास्थ्य अवस्था बुझे भने स्वास्थ्यकर्मी शान्ति शर्माले रक्तचाप जाँच गरिन् । स्वास्थ्य परीक्षणपछि आवश्यक परामर्शसमेत दिइयो ।
कृषि प्राविधिक मनोज रानाले शर्माको परिवारलाई तरकारीको बीउ उपलब्ध गराउँदै खेती गर्ने तरिका, रोग तथा कीरा नियन्त्रण र घरायसी उपचारका उपायबारे जानकारी दिए ।
वडाले सञ्चालन गरेको एकीकृत सेवा शिविरअन्तर्गत सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला तथा दीर्घरोगीका घरमै पुगेर सेवा प्रदान गरिएको हो ।
घरमै सेवा पाएपछि दीर्पादेवी शर्मा खुसी भइन् । उनले वडासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक र अशक्त व्यक्तिका लागि घरदैलो सेवा निकै प्रभावकारी भएको बताइन् ।
‘अरू बेला लौरो टेकेर वडामै पुग्नुपर्दथ्यो । म त बरु हिँड्न सक्थेँ, हिँड्न कठिन बुढाबुढीका लागि त यो स्वर्ग भयो,’ उनले भनिन्, ‘घरबाटै नवीकरण हुँदा धेरै सजिलो भयो ।’
वडा कार्यालयका अनुसार तीन दिनसम्म सञ्चालन गरिएको शिविरबाट करिब १ सय ५० घरधुरीमा सेवा पुर्याइएको थियो । शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, नियमित औषधि सेवन गर्ने बिरामीलाई औषधि वितरण, तरकारी तथा फलफूलका बीउ वितरण र पशुसेवासम्बन्धी परामर्श दिइएको थियो ।
जैमिनी नगरपालिकाका सबै वडामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा सचिवहरू घरघरमा पुगेका थिए । तर कुश्मीशेरा वडा कार्यालयले भने नवीकरणमा मात्रै सीमित नरही स्वास्थ्य, कृषि तथा पशुसेवालगायतका अन्य सेवा पनि एकैपटक घरदैलोमा पुर्याएको हो ।
‘नागरिकको सेवा हाम्रो कर्तव्य हो । जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको साझा सक्रियताले यो सम्भव भयो,’ वडाध्यक्ष आचार्यले भने ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्