काठमाडौं । नेपालमा भदौ १० गते आएको भोटेकोसी बाढीमा बगेका १७ वटा शव भारतमा फेला परेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशको गण्डक (नारायणी) नदी क्षेत्रबाट ती शव बरामद भएका हुन् ।
उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा शव फेला परेका छन् । यस्तै, महराजगन्ज क्षेत्रमा तीन महिला र एक पुरुष गरी चार शव भेटिएका छन् ।
महराजगन्जमा फेला परेका चारवटै शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको छ ।
फेला परेका शवको तत्काल पहिचान हुन नसकेपछि भारतीय अधिकारीहरूले पोस्टमार्टमका क्रममा डीएनए नमूना सुरक्षित राखेका छन् । भविष्यमा शवको पहिचान गर्न ती नमूना प्रयोग गरिने जनाइएको छ ।
भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीका कारण बगेका शव भारतसम्म पुग्न थालेपछि सीमावर्ती भारतीय क्षेत्रमा सुरक्षा निकायले नदी किनारमा गस्ती तथा निगरानी बढाएका छन् ।
स्रोत : इन्डियन एक्सप्रेस
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्