काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ आज सोमबार भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको स्थलगत निरीक्षणमा जाँदैछन्।
मन्त्री श्रेष्ठ बिहान ९ बजे काठमाडौँबाट स्थलमार्ग हुँदै नुवाकोट प्रस्थान गर्नेछन्। नुवाकोट हुँदै रसुवामा रहेका बाढी प्रभावित जलविद्युत् आयोजना स्थल पुग्ने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार नुवाकोट पुगेर मन्त्री श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिनेछन्। विद्युत् सेवा पुग्न नसकेका क्षेत्रमा वैकल्पिक ऊर्जाका रूपमा सौर्य प्रणाली (सोलार) प्रयोग गर्ने उपायबारे पनि छलफल गरिनेछ।
मन्त्री श्रेष्ठ त्रिशूलीको बट्टारस्थित क्याम्पमा पुग्नेछन्। त्यहाँबाट हेलिकप्टरमार्फत रसुवा जाने कार्यक्रम छ।
रसुवामा उनले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमार्ग क्षेत्रमा भइरहेको उद्धार, उद्धारका क्रममा देखिएका कठिनाइ तथा आयोजनामा भएको क्षतिको विवरणबारे जानकारी लिनेछन्।
रसुवाबाट फर्किएपछि मन्त्री श्रेष्ठ नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविरमा पुग्नेछन्। शिविरमा उनले उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ।
नुवाकोटमा मन्त्री श्रेष्ठले सुरुङमार्गमा फसेका कर्मचारीका परिवारसँग समेत भेट गर्नेछन्। साथै, नेपाल विद्युत् प्राधिकरणको टोलीसँग छलफल गरी उद्धार, विद्युत् सेवा पुनःस्थापना तथा आवश्यक सहजीकरणका विषयमा निर्देशन दिने सचिवालयले जनाएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्