बनेपा, भदौ १६ गते । त्रिशूली नदीमा आएको बाढीका कारण काठमाडौँ–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी तथा तराईका जिल्लालाई राजधानीसँग जोड्ने वैकल्पिक मार्ग बीपी राजमार्गमा सवारी चाप बढ्ने भएको छ।
बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरलगायत विभिन्न स्थानमा सडक कटान भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक डिभिजन भक्तपुरका अनुसार पृथ्वी राजमार्ग बन्द भएपछि तराई तथा पूर्वी जिल्लाबाट काठमाडौँ आउने रात्रि बस तथा मालवाहक सवारी बीपी राजमार्गतर्फ मोडिन सक्नेछन्।
सडक डिभिजन भक्तपुरका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार पृथ्वी राजमार्ग बन्द हुँदा कान्ति लोकपथ र त्रिभुवन राजपथमा समेत सवारी चाप बढ्नेछ। तर ती सडकले एकैपटक ठूलो संख्यामा यात्रुवाहक तथा मालवाहक सवारी धान्न कठिन हुने भएकाले बीपी राजमार्गमा पनि चाप बढ्ने देखिएको हो।
उनका अनुसार बीपी राजमार्गमा ठूला रात्रि बस, मालवाहक सवारी तथा ग्यास बुलेटको चाप बढे धुलिखेल–भकुण्डेबेँसी तथा खुर्कोट–चियाबारी खण्डका साँघुरा घुम्तीमा समस्या आउन सक्छ।
‘दिउँसो साना सवारीको चाप धान्न सकिए पनि ठूला सवारीको चाप धान्न सक्ने अवस्था छैन,’ योगेशले बताउनुभयो।
हाल बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणसमेत भइरहेको छ। पुनर्निर्माणका क्रममा ठूला उपकरण लैजाँदा साँघुरा घुम्तीका कारण यसअघि नै घण्टौँसम्म जाम हुने गरेको भन्दै उहाँले ठूला सवारीलाई दिउँसो सञ्चालन गर्न कठिन हुने बताउनुभयो।
ठूला रात्रि बस तथा मालवाहक सवारी सञ्चालन गर्नुपर्ने अवस्था आए रातिको समयमा अन्य सवारीलाई केही समय रोकेर सञ्चालन गर्न सकिने विकल्पबारे पनि छलफल भइरहेको छ।
ग्यास बुलेट सञ्चालनबारे स्थलगत अध्ययन
पृथ्वी राजमार्ग बन्द भएपछि ग्यास बुलेट सञ्चालनमा समेत समस्या देखिने भएको छ। कान्ति लोकपथ र त्रिभुवन राजपथका साँघुरा तथा जोखिमयुक्त खण्डका कारण ती मार्गबाट ग्यास बुलेट सञ्चालन गर्न कठिन हुने बताइएको छ।
बीपी राजमार्गमा समेत साँघुरा घुम्तीका कारण दुईतर्फी ठूला सवारी सञ्चालनमा समस्या आउन सक्ने भएकाले ग्यास बुलेट सञ्चालन गर्न मिल्ने वा नमिल्ने विषयमा चालकलाई स्थलगत अनुगमन गराउने तयारी गरिएको योगेशले जानकारी दिनुभयो।
ग्यास बुलेट चलाउनैपर्ने अवस्था आए राजमार्ग निर्माणको काम केही समय रोक्दै रातिको समयमा पुरानो ट्र्याकबाट सञ्चालन गर्न सकिने विकल्पसमेत अघि सारिएको छ।
पृथ्वी राजमार्ग सञ्चालनमा एक महिनाभन्दा बढी लाग्न सक्ने
बाढीबाट क्षतिग्रस्त पृथ्वी राजमार्ग तत्काल सञ्चालनमा आउने अवस्था नरहेको सडक डिभिजनले जनाएको छ। सडक पुनः सञ्चालनमा आउन एक महिनाभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ।
यसबीच राजधानी आवतजावतका लागि बीपी राजमार्ग, कान्ति लोकपथ र त्रिभुवन राजपथमा सवारी व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएको छ।
बीपी राजमार्ग काठमाडौँलाई तराईसँग जोड्ने वैकल्पिक मार्गका रूपमा विकास गरिएको हो। बनेपा–सिन्धुली–बर्दिबास सडक निर्माण जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि सुरु भएको थियो। जापान सरकारले विसं २०७२ मा उक्त राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्