काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। न्यून प्रभावित, अप्रभावित तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हवाई उद्धारको माग भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन्। प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँबाट हालसम्म २५२ विदेशी र ३ हजार ३४४ नेपाली गरी ३ हजार ५९६ जनाको हवाई उद्धार गरिएको छ। सुरक्षित अवस्थामा रहेका नागरिकलाई हवाई उद्धारको माग नगरी उपलब्ध वैकल्पिक सडकमार्ग प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ। धादिङबेँसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेस्टुरेन्ट) भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा आएको छ। त्यस्तै रसुवा जोड्ने विदुर–ढिकुरे–चौघडा–आँप्र–नर्जा–लच्याङ–सरमर्थाले–पाटीखर्क–बोगटीटार–कालिकास्थान–धुन्चे सडक पनि चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले उपलब्ध हेलिकप्टरलाई अत्यावश्यक खोज तथा उद्धार र राहत सामग्री ढुवानीमा प्रयोग गर्नुपर्ने भएकाले सुरक्षित अवस्थामा रहेका व्यक्तिले अनावश्यक हवाई उद्धारको माग नगर्न आग्रह गरेको हो।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्