बागलुङ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ।
गुठीका नवनियुक्त अध्यक्ष रामबहादुर खड्का ‘रमेश’को अध्यक्षतामा सोमबार बसेको पहिलो बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गुठीका लेखापाल दुर्गा खड्काले जानकारी दिए।
प्राकृतिक विपत्तिका कारण देश संकटमा परेका बेला बाढीपीडितको उद्धार तथा राहतमा राज्यलाई सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष खड्का ‘रमेश’ले बताए।
सोमबारै अध्यक्ष खड्काले पदभारसमेत ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले बागलुङ कालिका भगवती मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्न रचनात्मक काम अघि बढाउने बताए।
उनले कालिका मन्दिरलाई देश तथा विदेशका धार्मिक पर्यटकको आकर्षणको केन्द्रका रूपमा विकास गर्न पहल गर्ने बताए। पवित्र कालीगण्डकी नदीसँगको मन्दिरको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई प्रचारप्रसारमार्फत व्यापक बनाउनुपर्ने उनको भनाइ छ।
गुठी संस्थानले अध्यक्षमा खड्कासहित सचिवमा निशान खड्का, कोषाध्यक्षमा सचिन खड्का तथा सदस्यमा विद्या खड्का र मनकुमारी खड्कालाई नियुक्त गरेको छ।
बागलुङ कालिका भगवती मन्दिरमा नयाँ वर्ष, बडादशैँ तथा चैत्राष्टमीका अवसरमा ठूलो संख्यामा भक्तजन आउने गर्छन्। मनोकांक्षा पूरा हुने विश्वासमा देशका विभिन्न स्थानका साथै पछिल्लो समय भारतबाट समेत भक्तजन मन्दिरमा आउने गरेका छन्।
किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणि मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पाको माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेकी थिइन्। यही परम्पराअनुसार विसं १५९१ देखि बागलुङ कालिका भगवती मन्दिरमा पूजा तथा मेला सुरु भएको मानिन्छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्