ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अत्याधुनिक उपकरणसहित ४४ सदस्यीय दक्षिण कोरियाली उद्धार टोली नेपाल आइपुग्यो


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : ४५   बजे

काठमाडौं । विनाशकारी बाढीपछि खोज तथा उद्धारमा सघाउन अत्याधुनिक उपकरणसहित ४४ सदस्यीय दक्षिण कोरियाली उद्धार टोली (केडीआरटी) नेपाल आइपुगेको छ।

दक्षिण कोरियाली वायुसेनाको केसी–३३० ‘सिग्नस’ विमानमार्फत टोली बुधबार बिहान ६ः२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयअन्तर्गत विकास सहयोगका महानिर्देशक ली क्यु–होको नेतृत्वमा आएको टोलीमा राष्ट्रिय अग्नि नियन्त्रक निकायका ३७ जना कर्मचारी तथा परराष्ट्र मन्त्रालय र कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)का अधिकारीहरू छन्।

टोलीले पाँचवटा खोज तथा उद्धार कुकुर, उच्च क्षमताका ड्रोन, ध्वनि तथा भिडियो उपकरण र थर्मल इमेजिङ उपकरणलगायतका विशेष सामग्रीसमेत ल्याएको छ। यी उपकरण भग्नावशेष तथा कठिन स्थानमा फसेका मानिसको खोजीमा प्रयोग गरिनेछन्।

नौ दक्षिण कोरियाली नागरिकको खोजी प्राथमिकतामा

बाढीपछि सम्पर्कविहीन रहेका नौ जना दक्षिण कोरियाली नागरिकको खोजी केडीआरटीको प्राथमिकतामा रहनेछ। उनीहरू माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए।

यद्यपि टोलीको खोज तथा उद्धार कार्य दक्षिण कोरियाली नागरिकमा मात्र सीमित हुने छैन। नेपालीसहित अन्य देशका सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारमा समेत टोलीले सहयोग गर्नेछ।

केडीआरटी करिब १० दिन नेपालमा रहने अपेक्षा गरिएको छ। आवश्यकताअनुसार टोलीको बसाइ अवधि थपिन सक्ने बताइएको छ।

बिदुरलाई सम्भावित बेस स्टेसन बनाइने

टोलीले नेपाली अधिकारीहरूसँग समन्वय गरेर प्रभावित क्षेत्रमा खोज तथा उद्धार अघि बढाउनेछ। प्रारम्भिक रूपमा नुवाकोटको बिदुरलाई सम्भावित बेस स्टेसनका रूपमा हेरिएको छ।

नौ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएको क्षेत्रको नजिक भएकाले बिदुरलाई आधार शिविर बनाउन उपयुक्त स्थानका रूपमा हेरिएको हो। टोलीले बुधबार सम्भावित आधार शिविरको स्थान निरीक्षण गर्ने तयारी गरेको छ।

नेपाल आइपुगे पनि टोलीले तत्कालै उद्धार सुरु नगर्ने जनाएको छ। टोली प्रमुख लीका अनुसार दक्षिण कोरियाली र नेपाली अधिकारीहरूसँग समन्वय गरेपछि खोज तथा उद्धारको कार्य अघि बढाइनेछ।

यसअघि पनि दुई र्‍यापिड रेस्पोन्स टोली परिचालित

दक्षिण कोरियाले यसअघि भदौ ११ र १३ गते गरी दुईवटा सरकारी र्‍यापिड रेस्पोन्स टोली नेपाल पठाइसकेको छ। ती टोलीमा कुल २० जना छन्। उनीहरूले हेलिकोप्टर, ड्रोन तथा स्थलमार्गबाट खोजी गरिरहेका छन्।

तर नौ जना दक्षिण कोरियाली नागरिकको खोजीमा अहिलेसम्म उल्लेखनीय सफलता प्राप्त हुन सकेको छैन। विमान तथा अन्य स्रोतसाधन प्रयोग गरी छुट्टाछुट्टै खोजी गर्दा प्रभावकारी नभएको नेपाली र कोरियाली पक्षको निष्कर्षपछि नेपाल सरकारकै अनुरोधमा केडीआरटी परिचालन गरिएको हो।

र्‍यापिड रेस्पोन्स टिमको स्थल खोजी टोली अहिले बाढीबाट प्रभावित रसुवाको धुन्चे पुगिसकेको छ। धुन्चे माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको माथिल्लो बाँधबाट करिब दुई किलोमिटरको दूरीमा रहेको छ।

माथिल्लो त्रिशूली–१ मा मात्रै ५७३ जना सम्पर्कविहीन

भोटेकोसी बाढीबाट क्षतिग्रस्त ११ जलविद्युत् आयोजनामध्ये कोरियाली लगानीमा निर्माण भइरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१आयोजनामा सबैभन्दा धेरै मानिस सम्पर्कविहीन रहेको बताइएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीपछि विभिन्न आयोजनामा गरी ५७३ जना सम्पर्कविहीन छन्।

माथिल्लो त्रिशूली–१ मा कार्यरतमध्ये सोमबार तीन जनाको मात्र उद्धार भएको थियो। हालसम्म उद्धार तथा सम्पर्कमा आएकाको संख्या ८७३ पुगेको जनाइएको छ भने परामर्शदाता, ठेकेदार तथा आयोजनाका कर्मचारीसहित ५७३ जना अझै हराइरहेका छन्।

हराइरहेकामध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने व्यक्ति रहेको बताइएको छ। उनीहरू बाढी आएको समयमा सुरुङभित्र काम गरिरहेका थिए वा सुरुङ प्रवेश गर्न बाँकी थिए भन्नेबारे भने यकिन भइसकेको छैन।

के हो केडीआरटी?

केडीआरटी दक्षिण कोरिया सरकारको नेतृत्वमा परिचालित हुने आपत्कालीन अन्तर्राष्ट्रिय उद्धार इकाइ हो। विदेशमा हुने ठूला विपद्पछि खोज तथा उद्धार, चिकित्सकीय सहायता तथा राहतका लागि यसलाई परिचालन गरिन्छ।

सार्वजनिक–निजी ओभरसिज इमर्जेन्सी रिलिफ काउन्सिलको निर्णयपछि ओभरसिज इमर्जेन्सी रिलिफ ऐनअन्तर्गत टोली परिचालन हुने व्यवस्था छ।

नेपालमा भइरहेको उद्धार केडीआरटीको १२औँ अन्तर्राष्ट्रिय परिचालन हो। यसअघि दक्षिण कोरियाले सन् २०२३ को टर्की भूकम्प, सन् २०१८ को लाओस बाँध दुर्घटना तथा सन् २०१५ को नेपाल भूकम्पलगायतका ठूला विपद्मा उद्धार टोली परिचालन गरेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक सातापछि खुल्यो नेपाल–चीन जोड्ने जी२१६ राजमार्ग

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

सम्बन्धित

रसुवा बाढी प्रभावित क्षेत्रमा २३२ पटक हेलिकप्टर उडान

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

भोटेकोसी बाढी : मृतकको संख्या १ हजार ११८ पुग्यो

इनिशा विक मृत्यु प्रकरण : तीन नाबालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्चको आदेश

बाढीमा मृत्यु भएकामध्ये १ हजार ५० शव फेला, पहिचान नभएकाको वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन

चापाकोटका वडाध्यक्ष भुपराज वस्तीमाथि मोविल छ्यापियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu