सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा जोडिएका तीन नाबालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
जबरजस्ती करणीपछि हत्या गरेको अभियोगमा अनुसन्धानका क्रममा रहेका तीन नाबालकलाई बालसुधार गृहमा पठाउने सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतका आदेश सर्वोच्च अदालतले बदर गरेको हो।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले परिवर्तित नाम वीरेन्द्रनगर (ध), वीरेन्द्रनगर (फ) र वीरेन्द्रनगर (न) लाई बाबु, आमा वा परिवारका जिम्मेवार व्यक्तिको जिम्मा लगाएर मुद्दाको बाँकी कारबाही अघि बढाउन आदेश दिएको छ।
यसअघि सुर्खेत जिल्ला अदालतले १७ चैत २०८२ मा थुनछेक आदेश जारी गर्दै तीनै नाबालकलाई बालसुधार गृह पठाउने निर्णय गरेको थियो। उक्त आदेशलाई उच्च अदालत सुर्खेतले २४ वैशाख २०८३ मा सदर गरेपछि उनीहरूका तर्फबाट सर्वोच्च अदालतमा निवेदन परेको थियो।
अनुसन्धानमा संकलित प्रमाणलाई सर्वोच्चले बनायो आधार
सर्वोच्च अदालतले तीनै नाबालकलाई बालसुधार गृहमा राखिरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दा अनुसन्धानका क्रममा संकलित प्रमाण र घटनाक्रमलाई आधार बनाएको छ।
अदालतको आदेशअनुसार तीनै नाबालकले प्रहरी तथा अदालतसमक्ष दिएको बयानमा आफूमाथि लागेको आरोप पूर्ण रूपमा अस्वीकार गरेका छन्। घटनाका मुख्य आरोपी भनिएका परिवर्तित नाम वीरेन्द्रनगर (प) ले समेत ती तीन नाबालक घटनामा संलग्न रहेको भन्दै पोल नगरेको सर्वोच्चको आदेशमा उल्लेख छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको प्राविधिक विश्लेषण, फोन संवाद भएको समय तथा ट्राफिक कार्यालय, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन विभाग र प्रदेश आयुर्वेद अस्पतालका सीसीटीभी फुटेजलाई समेत अदालतले विश्लेषण गरेको थियो।
उक्त प्रमाणहरूको विश्लेषणबाट तीन नाबालक घटना घटिसकेपछि र पीडित बेहोस अवस्थामा पुगेपछि उद्धार तथा सहयोगका लागि मात्र घटनास्थल पुगेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा २४ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुर्पक्षका लागि उनीहरूलाई बालसुधार गृहमा नै राख्नुपर्ने अवस्था विद्यमान नरहेको सर्वोच्चको निष्कर्ष छ।
मुद्दा भने कायमै
सर्वोच्चको आदेशपछि तीनै नाबालकलाई अभिभावकको जिम्मा लगाइए पनि उनीहरूमाथिको मुद्दा भने अन्त्य भएको छैन।
अदालतले मुद्दाको अन्तिम फैसला नभएसम्म उनीहरूलाई अदालतले बोलाएको समयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने र अदालतको पूर्वअनुमति नलिई देशबाहिर जान नपाउने सर्त तोकेको छ।
इनिशामाथि जबरजस्ती करणी गरी हत्या गरेको अभियोगसम्बन्धी मुद्दा अहिले पनि सुर्खेत जिल्ला अदालतमा विचाराधीन छ।
ट्युसन पढ्न निस्किएकी इनिशा वनमा अचेत भेटिएकी थिइन्
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई परिवारसँग वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा २३ फागुन २०८२ मा बिहान ट्युसन पढ्न घरबाट निस्किएकी थिइन्।
बिहान करिब ९ बजे उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्। तत्काल प्रदेश अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले सोही दिन इनिशाका प्रेमी भनिएका १६ वर्षीय नाबालक परिवर्तित नाम वीरेन्द्रनगर (प) लाई नियन्त्रणमा लिएको थियो। अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले थप तीन नाबालकलाई समेत नियन्त्रणमा लिएको थियो।
सर्वोच्चको पछिल्लो आदेशले ती तीन नाबालकलाई बालसुधार गृहबाट अभिभावकको जिम्मा लगाउने बाटो खोलेको भए पनि घटनामा उनीहरूको भूमिका के थियो भन्ने विषयमा अन्तिम न्यायिक निष्कर्ष आउन बाँकी नै छ। मुद्दाको बाँकी प्रक्रिया सुर्खेत जिल्ला अदालतबाट अघि बढ्नेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्