काठमाडौं । रसुवा बाढीमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका ८५ जनाको शव काठमाडौंको गोकर्णेश्वरस्थित जंगलमा पुरिएको छ।
मंगलबार बेलुका तीनवटै सुरक्षा निकायको टोलीले गोकर्णेश्वर नगरपालिका–७ स्थित नेपाल ट्रस्टको नाममा रहेको जंगलमा ती शव व्यवस्थापन गरेको हो।
यसअघि शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएका थिए। लामो समयसम्म पहिचान खुल्न नसकेपछि शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
उनका अनुसार शव जंगलमा लैजानुअघि प्रहरीले पहिचान खुलाउन आफ्नो वेबसाइटमार्फत विवरण तथा तस्बिर सार्वजनिक गरेको थियो। साथै, डीएनए परीक्षणका लागि आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरेपछि मात्र शवहरू व्यवस्थापन गरिएको हो।
डीएनए नमुना संकलन जारी
प्रहरीका अनुसार पहिचान हुन नसकेका शवको डीएनए नमुना संकलन गरिएको छ। सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल, महाराजगन्जबाट सम्भावित आफन्तहरूको नमुना संकलन भइरहेको छ।
एसपी थापाका अनुसार भविष्यमा डीएनए मिलान भएपछि शव आफन्तलाई बुझाउन सकिने गरी आवश्यक प्रक्रिया पूरा गरेर शव व्यवस्थापन गरिएको हो।
“पछि डीएनए म्याच हुन आएका बखत मृतकका आफन्तलाई बुझाउन सक्ने गरी वा थप प्रक्रिया गर्ने गरी व्यवस्थापन गरिएको छ,” उनले भने, “यसका लागि परिवारका सदस्यको नमुना संकलन गरिरहेका छौँ।”
सोमबार दिउँसोपछि ल्याइएका शव भने हाल त्रिवि शिक्षण अस्पतालमै राखिएका छन्। ती शव पनि केही दिनभित्र पहिचान हुन नसकेमा आवश्यक प्रक्रिया पूरा गरी गोकर्णेश्वरकै जंगलमा व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।
छेदविछेद अवस्थामा शव, पहिचानमा कठिनाइ
रसुवा बाढीमा ठूलो संख्यामा मानिसको ज्यान गए पनि सबै शव आफन्तलाई बुझाउन सकिएको छैन। बाढीले बगाएका शवमध्ये कतिपय छेदविछेद अवस्थामा फेला परेका छन् भने केहीको शरीरका विभिन्न अंग मात्र भेटिएका छन्।
यसका कारण शवको प्रत्यक्ष पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ।
पहिचान नखुलेका शवको डीएनए प्रोफाइल तयार गरी सम्भावित आफन्तको नमुनासँग मिलान गर्ने प्रक्रिया अघि बढाइएको छ। डीएनए म्याच भएमा आवश्यक कानुनी तथा फरेन्सिक प्रक्रिया पूरा गरी आफन्तलाई शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ।
रसुवा बाढीपछि हराइरहेका व्यक्तिका परिवारले अझै आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन सकेका छैनन्। पहिचान नखुलेका शवको व्यवस्थापनसँगै अब डीएनए परीक्षणबाट आफन्त पहिचान गर्ने प्रक्रिया महत्वपूर्ण बनेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्