काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले वैकल्पिक मार्गबाट ग्यास काठमाडौं उपत्यका ल्याउन थालेको छ ।
निगमको समन्वयमा बिहीबार विभिन्न कम्पनीका २४ हजार ५ सय सिलिन्डर एलपी ग्यास बाइरोडको बाटो हुँदै काठमाडौं उपत्यका भित्र्याइएको हो ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास बोकेका बुलेटहरू काठमाडौं तथा धादिङस्थित बोटलिङ प्लान्टसम्म पुग्न नसकेका थिए । त्यसपछि निगमले एलपी ग्यास उद्योगलाई तराईका उद्योगबाटै सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार शुक्रबारदेखि यही वैकल्पिक मार्ग हुँदै थप परिमाणमा ग्यासका सिलिन्डर नियमित रूपमा काठमाडौं उपत्यका ल्याइनेछ ।
बाढी–पहिरोले पेट्रोलियम आपूर्ति प्रभावित
भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीपछि रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति प्रभावित हुँदै आएको छ ।
त्यसमाथि भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा कटान गरेपछि पेट्रोलियम पदार्थ ढुवानीमा थप समस्या उत्पन्न भएको निगमले जनाएको छ ।
सडक अवरुद्ध भए पनि प्रभावित क्षेत्रमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति रोक्न नदिन निगमले वैकल्पिक मार्ग तथा विशेष व्यवस्थामार्फत आपूर्ति निरन्तरता दिएको जनाएको छ ।
हेलिकप्टरका लागि १ लाख २ हजार लिटर हवाई इन्धन
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा परिचालित हेलिकप्टरका लागि आवश्यक हवाई इन्धनसमेत विशेष व्यवस्थामार्फत उपलब्ध गराइएको छ ।
नेपाली सेनाको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवा सञ्चालन गरी निगमले हालसम्म १ लाख २ हजार लिटरभन्दा बढी हवाई इन्धन उपलब्ध गराइसकेको जनाएको छ ।
यसैगरी प्रभावित क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन बागमती प्रदेश कार्यालयमार्फत प्रभावित क्षेत्रका पेट्रोल पम्पहरूलाई हालसम्म १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २० हजार लिटर डिजेल उपलब्ध गराइएको निगमले जनाएको छ ।
सार्वजनिक बिदामा पनि पेट्रोल–डिजेल बिक्री
निगमले बाढी–पहिरो प्रभावित क्षेत्र तथा अन्य स्थानमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल र डिजेलको बिक्री–वितरण निरन्तर गर्ने जनाएको छ ।
Originally published on abcnews.com.np.



प्रतिक्रिया दिनुहोस्