काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट बाढी प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्न १ अर्ब रुपैयाँ निकासा गरिएको छ।
मंगलबार बसेको कोष सञ्चालन समितिको बैठकले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा तत्कालीन पुनःस्थापनाका कामका लागि उक्त रकम परिचालन गर्ने निर्णय गरेको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टका अनुसार गृहसचिवको नेतृत्वमा रकम परिचालन हुने गरी विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ निकासा गरिएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोष गृहसचिवले व्यवस्थापन गर्ने व्यवस्था छ।
प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकमा रहेको मौज्दातबाट १ अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइएको हो।
मागका आधारमा स्थानीय तहमा रकम जाने
निकासा भएको रकम बाढी प्रभावित क्षेत्रको आवश्यकता र मागका आधारमा खर्च गरिनेछ। यसबाट उद्धार तथा राहत, तत्कालीन पूर्वाधार सुधार, अस्थायी वासस्थान निर्माणलगायतका काम सञ्चालन गर्न सकिनेछ।
बाढी प्रभावित पालिका वा जिल्लाका विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकता र क्षतिको अवस्थाका आधारमा रकम माग गर्न सक्नेछन्।
त्यसरी प्राप्त मागका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ।
सरकारले तत्कालीन उद्धार तथा राहतसँगै प्रभावित नागरिकका लागि अस्थायी बसोबासको व्यवस्था र क्षतिग्रस्त पूर्वाधारलाई न्यूनतम रूपमा सञ्चालनयोग्य बनाउने कामलाई प्राथमिकतामा राख्ने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्