काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले सडक पूर्वाधारमा मात्रै कम्तीमा ३० अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको सडक विभागले जनाएको छ। विभागका अनुसार क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न भने ५० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ।
सडक विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै बाढीबाट रणनीतिक सडक सञ्जालमा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।
विभागका अनुसार बाढीका कारण रणनीतिक सडक सञ्जालअन्तर्गत ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यस्तै, ३१ भन्दा बढी पुलमा क्षति पुगेको विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए।
“कम्तीमा पनि ३० अर्बको क्षतिको आकलन भएको छ। पुनर्निर्माणका लागि ५० अर्बभन्दा बढी खर्च हुने देखिन्छ,” जैसीले भने।
उनका अनुसार बाढीबाट भएको क्षतिले जिल्ला सदरमुकाम जोड्ने सडक तथा पुल निर्माणको डिजाइनमा समेत नयाँ पाठ सिकाएको छ। भविष्यमा बाढी तथा नदीको बहावलाई ध्यानमा राखेर जिल्ला सदरमुकाम जोड्ने पुल थप लामो र सुरक्षित बनाउनुपर्ने आवश्यकता देखिएको उनले बताए।
पुलको लम्बाइ बढाउँदा निर्माण लागतसमेत बढ्ने विभागको भनाइ छ।
तत्काल सडक सञ्चालनमा ल्याउने प्रयास
सडक विभागले बाढीबाट क्षतिग्रस्त सडक मर्मत तथा अवरोध हटाउन एक दर्जनभन्दा बढी उपकरण परिचालन गरेको जनाएको छ।
सम्भव भएका स्थानमा तत्काल सडक खुलाएर यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको महानिर्देशक जैसीले बताए।
उनका अनुसार सडक तथा पुलमा भएको क्षतिको विस्तृत मूल्यांकनसँगै तत्काल सञ्चालन गर्न सकिने सडक खुलाउने र दीर्घकालीन रूपमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने योजना अघि बढाइनेछ।
भोटेकोसी बाढीले सडक, पुललगायत यातायात पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि रसुवा, नुवाकोटलगायत प्रभावित जिल्लामा आवागमन सहज बनाउन सरकारले अस्थायी संरचना निर्माण तथा वैकल्पिक मार्ग सञ्चालनमा समेत जोड दिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्