काठमाडौं । भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङको शैक्षिक क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीबाट तीन जिल्लाका १७ विद्यालयमा क्षति पुगेको छ भने ३२ विद्यालयका ९ हजार ७३२ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागको पछिल्लो तथ्यांकअनुसार क्षतिग्रस्त १७ विद्यालयमध्ये नौ सामुदायिक, सात निजी र एक धार्मिक विद्यालय छन्।
तीमध्ये नौ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पूर्ण क्षति भएका विद्यालयमा छ सामुदायिक, दुई निजी र एक धार्मिक विद्यालय छन्। तीन सामुदायिक र पाँच निजी विद्यालयमा आंशिक क्षति पुगेको विभागले जनाएको छ।
जिल्लागत रूपमा नुवाकोटका नौ तथा रसुवा र धादिङका चार–चार विद्यालयमा क्षति पुगेको छ।
३२ विद्यालयको पठनपाठन प्रभावित
बाढीले विद्यालय भवनमा पुर्याएको क्षतिसँगै विस्थापन, विद्यार्थी तथा शिक्षक सम्पर्कविहीन हुनु र विद्यालयलाई आश्रयस्थलका रूपमा प्रयोग गरिनुले पठनपाठनमा थप असर परेको छ।
तीन जिल्लाका ३२ विद्यालयमा अध्ययनरत ९ हजार ७३२ विद्यार्थीको पढाइ रोकिएको विभागले जनाएको छ। प्रभावित विद्यालयमध्ये २१ सामुदायिक, १० निजी र एक धार्मिक विद्यालय छन्।
जिल्लागत रूपमा नुवाकोटका १३, रसुवाका ११ र धादिङका आठ विद्यालयको पठनपाठन प्रभावित भएको छ।
नुवाकोटमा सबैभन्दा धेरै ४ हजार २५८ विद्यार्थीको पढाइ प्रभावित भएको छ। धादिङमा ३ हजार ७०५ र रसुवामा १ हजार ७६९ विद्यार्थी नियमित पठनपाठनबाट वञ्चित भएका छन्।
२५० विद्यार्थी र १६ शिक्षक सम्पर्कविहीन
बाढीले शैक्षिक क्षेत्रमा पुर्याएको मानवीय क्षति अझ गम्भीर छ। विभागका अनुसार तीन जिल्लाका १२ विद्यालयसँग सम्बन्धित २५० विद्यार्थी र १६ शिक्षकसहित २६७ जना सम्पर्कविहीन वा बाढीले बगाएको विवरण प्राप्त भएको छ।
विद्यार्थीतर्फ २३३ जना अझै सम्पर्कविहीन छन् भने १७ विद्यार्थीलाई बाढीले बगाएको विभागले जनाएको छ। शिक्षकतर्फ १५ जना सम्पर्कविहीन छन् भने एक शिक्षकलाई बाढीले बगाएको उल्लेख छ।
सबैभन्दा गम्भीर अवस्था निलकण्ठ माध्यमिक विद्यालयमा देखिएको छ। उक्त विद्यालयका २०० विद्यार्थी र चार शिक्षक सम्पर्कविहीन छन्।
कोमिङ स्यामेवाङ्फेल विद्यालयका १६ विद्यार्थी र एक शिक्षक तथा चण्डेश्वरी विद्यालयका १३ विद्यार्थी प्रभावित भएका छन्।
नेपाल राष्ट्रिय बेसिक स्कुलका छ जना, हाइल्यान्डका छ जना तथा गोसाईकुण्ड माध्यमिक विद्यालयका नौ विद्यार्थी सम्पर्कविहीन रहेको विभागले जनाएको छ।
चिप्लेटीका चार तथा नव विजय माध्यमिक विद्यालयका दुई शिक्षकसहित अन्य विद्यालयका शिक्षक तथा विद्यार्थीसमेत सम्पर्कविहीन छन्।
देउराली, न्यू किम्बोउ बोर्डिङ स्कुल, पाल्पा सामरी र पशुपति माध्यमिक विद्यालयसँग सम्बन्धित शिक्षक तथा विद्यार्थीसमेत सम्पर्कविहीन रहेको विभागको विवरणमा उल्लेख छ।
एक हजार २३० विद्यार्थी शिविरमा
बाढीबाट विस्थापित एक हजार २३० विद्यार्थीलाई अस्थायी शिविरमा राखिएको विभागले जनाएको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा २००, विदुर नगरपालिकामा ४०० र शिवपुरी गाउँपालिकामा ४० विद्यार्थी शिविरमा छन्।
रसुवाको गोसाईकुण्ड गाउँपालिकामा १५० र उत्तरगया गाउँपालिकामा ४४० बालबालिकालाई शिविरमा राखिएको छ।
विस्थापित विद्यार्थीलाई हाल विद्यालय भवनमै स्थापना गरिएका अस्थायी शिविरमा राखिएको विभागले जनाएको छ।
आठ विद्यालय बने आश्रयस्थल
बाढी प्रभावित नागरिकलाई राख्न रसुवा र नुवाकोटका आठ विद्यालयलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गरिएको छ। ती विद्यालयमा करिब एक हजार २०० विस्थापित नागरिक बसिरहेका छन्।
विद्यालयलाई आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्दा भौतिक क्षति नपुगेका केही विद्यालयको समेत पठनपाठन सञ्चालन हुन सकेको छैन। यसबाट थप करिब एक हजार ३०० विद्यार्थीको पढाइ प्रभावित भएको विभागले जनाएको छ।
विभागका अनुसार कतिपय विद्यालयका भवन सुरक्षित रहे पनि विद्यार्थी र शिक्षक सम्पर्कविहीन हुनु, परिवार विस्थापित हुनु तथा विद्यालय आश्रयस्थलमा परिणत हुनुले तत्काल नियमित कक्षा सञ्चालन गर्न कठिन भएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहेकाले विद्यार्थी, शिक्षक तथा विद्यालयमा भएको क्षतिको तथ्यांक अझै परिवर्तन हुन सक्ने विभागले जनाएको छ। विस्तृत क्षति मूल्यांकनपछि विद्यालय पुनर्निर्माण, अस्थायी सिकाइ केन्द्र सञ्चालन र प्रभावित विद्यार्थीको पठनपाठन पुनः सुरु गर्ने योजना अघि बढाइने भएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्