काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिका लागि १५ वटा बीमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म बाढीबाट भएको क्षतिका लागि विभिन्न बीमा कम्पनीमा बीमितहरूले उक्त रकम बराबरको अनुमानित दाबी गरेका हुन्।
प्राधिकरणका अनुसार सबैभन्दा ठूलो दाबी ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। त्यहाँ ८ जना बीमितले करिब १३ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेका छन्।
त्यसपछि युनाइटेड अजोडमा ३८ बीमितले ४ अर्ब ९७ करोड, सानिमा जीआईसीमा १०२ बीमितले २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा ६७ बीमितले १ अर्ब ८८ करोड र शिखर इन्स्योरेन्समा १२७ बीमितले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेका छन्।
त्यस्तै, हिमालयन एभरेस्टमा ४५ बीमितले ६४ करोड, नेको इन्स्योरेन्समा ६६ बीमितले ५१ करोड, सगरमाथा लुम्बिनीमा ३२ बीमितले २४ करोड, नेपाल इन्स्योरेन्समा ३२ बीमितले २३ करोड, आईजीआई प्रुडेन्सियलमा २६ बीमितले १८ करोड र एनएलजी इन्स्योरेन्समा २१ बीमितले ११ करोड रुपैयाँको प्रारम्भिक दाबी गरेका छन्।
प्राधिकरणका अनुसार प्रभु इन्स्योरेन्समा १४ बीमितले ३ करोड, राष्ट्रिय बीमा कम्पनीमा २ बीमितले ७६ लाख, नेसनल इन्स्योरेन्समा २ बीमितले ५३ लाख र नेपाल माइक्रो इन्स्योरेन्समा एक बीमितले ५ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेका छन्।
इन्जिनियरिङ बीमामा सबैभन्दा ठूलो दाबी
बीमा विधाअनुसार हेर्दा सबैभन्दा ठूलो रकम इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाअन्तर्गतको छ। यस शीर्षकमा ५२ जना बीमितले २० अर्ब रुपैयाँभन्दा बढी प्रारम्भिक दाबी गरेका छन्।
त्यस्तै, सम्पत्ति बीमाअन्तर्गत ११३ बीमितले २ अर्ब ३४ करोड रुपैयाँ बराबरको दाबी गरेका छन्।
मोटर बीमाअन्तर्गत ३१३ बीमितले १ अर्ब ५५ करोड रुपैयाँको प्रारम्भिक दाबी गरेका छन्। परिवहन बीमाअन्तर्गत ४७ बीमितले ८९ करोड रुपैयाँ तथा अन्य बीमाअन्तर्गत ५४ बीमितले ५२ करोड रुपैयाँ बराबरको दाबी गरेका छन्।
यसैगरी, स्वास्थ्य बीमाअन्तर्गत ४ जना बीमितले ४ करोड १६ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यी रकमहरू प्रारम्भिक अनुमानमा आधारित बीमा दाबी हुन्। क्षतिको स्थलगत मूल्यांकन, कागजात परीक्षण तथा बीमा सम्झौताका सर्तअनुसार दाबीको वास्तविक रकम निर्धारण हुने छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्