ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भरे कुरा गरौँला’ भन्दै छुटेका सविन, ‘दिउँसो फोन गर्छु’ भनेका सुमन फर्किएनन्


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ११ : ५५   बजे

हेटौँडा । ‘भरे कुरा गरौँला ।’

गत बुधबार बिहान करिब ६ बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दै सविन रानामगरले यति मात्र भनेका थिए। काम सुरु हुन लागेको थियो। यता मकवानपुरस्थित घरमा रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारी गर्दै थिइन्।

त्यो सामान्य बिहान केही घण्टामै असामान्य त्रासदीमा बदलियो।

रसुवाको भोटेकोशीमा भीषण बाढी आयो। रविनाले श्रीमानलाई फोन गरिन्। फोन उठेन। पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन।

‘भरे कुरा गरौँला’ भन्दै छुटेको त्यो संवाद नै उनीहरूबीचको अन्तिम कुराकानी बन्यो।

मकवानपुरको भीमफेदी गाउँपालिका–२ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा सवारी चालकका रूपमा काम गर्दै आएका थिए।

एक महिनाको बिदा लिएर घर आएका उनी केही दिनमै कम्पनीले बोलाएको भन्दै भदौ ७ गते पुनः रसुवा फर्किएका थिए।

सविनकी ठूलीआमा नानीमाया रानाका अनुसार उनी मङ्गलबार मात्र रसुवा पुगेका थिए। बुधबारदेखि काम सुरु भएको थियो।

“घर आउँदा एक महिनाका लागि बिदा लिएर आएको भन्थ्यो। पाँच–छ दिन हुनेबित्तिकै कम्पनीले बोलायो भनेर काममा फर्किएको थियो,” नानीमायाले भनिन्, “मङ्गलबार मात्रै रसुवा पुगेको थियो रे। त्यही बाढी आउने दिनबाट काम सुरु भएको थियो रे। एकैछिनमा सबै सकियो।”

बाढीपछि दुई दिनसम्म परिवार सुखद खबरको प्रतीक्षामा रह्यो। त्यसपछि आफन्तहरू अस्पताल र शव राखिएका स्थानमा पुगेर सविनको खोजी गर्न थाले।

अन्ततः सोमबार नवलपरासीमा एउटा शव फेला पर्यो।

तर शवको अवस्था यति बिग्रिएको थियो कि अनुहारबाट पहिचान गर्न सम्भव थिएन। परिवारले बायाँ हातमा रहेको ट्याटुका आधारमा सविनलाई पहिचान गर्नुपर्‍यो।

भीमफेदी–२ का वडाध्यक्ष काशीराम बज्युका अनुसार ट्याटु नै सविनको शव पहिचान गर्ने आधार बन्यो।

सविनका बुबा १४–१५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन्। घरमा आमा, भाइ, श्रीमती रविना र पाँच वर्षीया छोरी छन्।

श्रीमती र छोरी बाँचे, उद्धव फर्किएनन्

हेटौँडा उपमहानगरपालिका–५ ढुङ्गेधारामा पनि त्यही समयमा अर्को परिवार यस्तै पीडामा थियो।

दुई वर्षदेखि चिलिमे जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत उद्धव खड्काले पत्नी निरू र छोरी निमिसालाई समेत रसुवा लगेका थिए।

छोरीलाई विद्यालय जान सहज होस् भनेर उनले विद्यालय नजिकै कोठा भाडामा लिएका थिए। कामका कारण उद्धव भने सातामा एक दिनजति मात्र परिवारसँग बस्ने गर्थे।

भदौ १० गते बाढी आएको खबर फैलिन थालेपछि हेटौँडामा रहेका आफन्तले उद्धवलाई फोन गरे। फोन लागेन। पत्नी निरूलाई पनि सम्पर्क हुन सकेन।

केही समयका लागि तीनै जना सम्पर्कविहीन भए।

भदौ ११ गते हेटौँडा उपमहानगरपालिकाको टोली उनीहरूको खोजीमा रसुवातर्फ निस्कियो। सडक अवरुद्ध भएकाले टोली काठमाडौँमै रोकियो।

काठमाडौँका विभिन्न अस्पतालमा खोजी गर्दा पनि कुनै जानकारी भेटिएन। भदौ १२ गते टोली नुवाकोट पुग्यो।

त्यहाँ नेपाल प्रहरीले हेलिकोप्टरमार्फत उद्धार गरेका व्यक्तिहरूको सूचीमा दुई नाम भेटिए—निरू खड्का र निमिसा खड्का।

आमा–छोरी जीवित थिए।

उद्धारपछि उनीहरूलाई हेटौँडा ल्याउने व्यवस्था गरियो। निरू र निमिसा सुरक्षित भेटिएपछि परिवारले उद्धव पनि कतै उद्धार भएर सुरक्षित स्थानमा रहेको आशा गर्न थाल्यो।

तर त्यो आशा लामो समय टिकेन।

भदौ १२ गते नै नवलपरासीमा उद्धवको शव फेला पर्यो।

हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरेका अनुसार बाढी आउँदा उद्धव काममै थिए। कोठामा रहेका निरू र निमिसाले भने बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाउन सफल भएका थिए।

परिवारका तीनमध्ये दुई जना फर्किए, तर परिवारका लागि भविष्य बनाउन रसुवा पुगेका उद्धव कहिल्यै फर्किएनन्।

‘राम्रो तलब हुन्छ’ भनेर दुई महिनाअघि मात्रै गएका सुमन

हेटौँडा–१५ भोर्लेका २६ वर्षीय सुमन गोलेको कथा पनि उस्तै छ।

उनी दुई महिनाअघि मात्र राम्रो आम्दानीको आशामा रसुवा पुगेका थिए। त्यसअघि हेटौँडास्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगमा अपरेटरका रूपमा काम गर्थे। रसुवामा भने हाइड्रोपावर आयोजनामा स्काभेटर चालकको काम पाएका थिए।

बाढी आएको बिहान उनी रातिको ड्युटी सकेर फर्किएका थिए।

बिहान करिब ६ बजे श्रीमती रेविकासँग फोनमा कुरा भयो।

रातभर काम गरेकाले निद्रा लागेको र अहिले सुत्ने, दिउँसो फेरि फोन गर्ने उनले बताएका थिए।

तर त्यो ‘दिउँसो फोन गर्छु’ पनि अन्तिम वाचा बन्यो।

सुमनकी छिमेकी निर्मला घलानका अनुसार बाढीको खबरपछि परिवारले पटकपटक फोन गर्‍यो। तर सम्पर्क भएन।

साथीहरूबाट परिवारले पाएको जानकारीअनुसार बाढी आउँदा सुमन सुतिरहेका थिए। साथीहरूले उठेर भाग्न आग्रह गरे पनि समयमै बाहिर निस्कन नसकेको बताइएको छ।

अन्ततः सुमनको शव पनि नवलपरासीमा फेला पर्यो।

उनको परिवारमा श्रीमती, चार वर्षीय छोरा र भाइ छन्।

तीन परिवार, एउटै नियति

सविन, उद्धव र सुमनका घर फरक थिए।

रसुवा पुगेको समय फरक थियो। उनीहरूको काम पनि फरक थियो।

तर उनीहरूलाई घरबाट टाढा पुर्‍याउने कारण एउटै थियो—रोजगारी।

सविन चार वर्षदेखि रसुवामा थिए। उद्धव दुई वर्षदेखि त्यहीँ काम गरिरहेका थिए। सुमन भने राम्रो आम्दानीको आशामा दुई महिनाअघि मात्र त्यहाँ पुगेका थिए।

बाढी आउनुअघिसम्म तीनै जनाको परिवारसँग नियमित सम्पर्क थियो।

सविनले श्रीमतीलाई भनेका थिए—‘भरे कुरा गरौँला।’

सुमनले भनेका थिए—‘अहिले सुत्छु, दिउँसो फोन गरौँला।’

उद्धवको परिवारसँग पनि अघिल्लो दिनसम्म सम्पर्क थियो।

त्यसपछि फोनहरू मौन भए।

फोनको प्रतीक्षाबाट शव पहिचानसम्म

परिवारले सुरुमा फोन आउने प्रतीक्षा गर्‍यो।

त्यसपछि उद्धार गरिएका व्यक्तिको सूचीमा नाम खोजियो। अस्पताल धाइयो। शव राखिएका स्थानसम्म पुगेर आफ्ना मान्छेको खोजी गरियो।

उद्धवको परिवारले पत्नी र छोरी जीवित भेटिएपछि उनी पनि फर्कने आशा राख्यो।

सविनको परिवारले भने अनुहारबाट समेत चिन्न नसकिने शवलाई हातको ट्याटुबाट पहिचान गर्नुपर्‍यो।

सुमनकी श्रीमतीले दिउँसो आउने फोनको प्रतीक्षा गरिन्। त्यो फोन कहिल्यै आएन।

घर फर्किने योजना अधुरै

रोजगारीका लागि घर छाड्दा तीनै जनासँग भविष्यका योजना थिए।

सविन बिदा छोट्याएर काममा फर्किएका थिए।
सुमन राम्रो कमाइको आशामा नयाँ काममा पुगेका थिए।
उद्धवले त श्रीमती र छोरीलाई समेत आफूसँगै राखेर परिवारको भविष्य बनाउने प्रयास गरिरहेका थिए।

तर भोटेकोशीको एउटा बिहानले ती सबै योजना बगाइदियो।

फेरि फोन गर्ने भनेर छुटेका सविन र सुमनको फोन आएन। उद्धवलाई पर्खिरहेकी पत्नी र छोरी बाढीबाट जोगिएर घर फर्किए, तर उद्धव फर्किएनन्।

रोजगारीका लागि घरबाट निस्किएका तीनै जनाको यात्रा अन्ततः घर फर्किने बाटोमा होइन, शव पहिचान गर्ने ठाउँमा पुगेर टुंगियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

५५ वर्षमै अवकाशको प्रस्ताव : हजारौँ कर्मचारी प्रभावित हुने, प्रशासनमा पुस्तान्तरण कि ‘भ्याकुम’?

बाढीपीडित भन्छन्- शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए शान्ति मिल्थ्यो

स्याँफ्रुबेँसी : जहाँ बाढीले घर होइन, जीवन नै बगायो

भोटेकोशीको त्यो दिन : केही सेकेन्डले छुट्याएको जीवन र मृत्यु

रसुवागढीको विपत्तिले सातै प्रदेशलाई रुवायो : व्यापारिक नाकादेखि जलविद्युत्का दक्ष जनशक्तिसम्म तहसनहस

१२ घण्टा जंगलमा भौँतारिए, पसिना निचोरेर पिए, बिस्कुट खाए– यसरी बाँचे शिवु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu