ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपीडित भन्छन्- शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए शान्ति मिल्थ्यो


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ४ : १५   बजे

काठमाडौं । भदौ १०  आएको भीषण बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। भोटेकोसी र त्रिशूली नदीमा आएको आकस्मिक बाढी (फ्ल्यास फ्लड) का कारण ठूलो संख्यामा नागरिक बेपत्ता भएका छन् भने अर्बौं रुपैयाँ बराबरका भौतिक पूर्वाधार ध्वस्त भएका छन्।

बाढीको केही दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा राज्यको उपस्थिति प्रभावकारी रूपमा महसुस गर्न नसकेको पीडितहरूले गुनासो गरेका छन्। उद्धार तथा राहतमा भएको ढिलाइले पीडितको पीडा थपिएको उनीहरूको भनाइ छ।

रसुवाको कालिका गाउँपालिका–३ का स्थानीय अर्जुनप्रसाद न्यौपानेका अनुसार रसुवागढी बोर्डरदेखि बेत्रावतीसम्मको तल्लो तथा माथिल्लो तटीय क्षेत्रमा बाढीले अकल्पनीय क्षति पुर्‍याएको छ।

रसुवागढी, टिमुरे, घट्टेखोला, स्याफ्रुबेँसी, पहिरेबेँसी र मैलुङलगायत क्षेत्रमा रहेका बस्ती तथा भौतिक संरचना बाढीले तहसनहस पारेको उनले बताए।

“हाम्रो जिल्ला नेपालको अन्तिम भूभागमा पर्ने भएकाले पनि हो कि, राज्यले सधैँ सौतेनी व्यवहार गरिरहेको छ,” न्यौपानेले भने, “उद्धारका लागि समयमै हेलिकोप्टर पुग्न सकेन। मानिसहरू तितरबितर भएका छन्, को कहाँ छन् भन्ने अत्तोपत्तो छैन।”

सडक र पुल भत्किएपछि गाउँसँग सम्पर्कविच्छेद

बाढीले सडक तथा पुलहरूमा ठूलो क्षति पुर्‍याएपछि रसुवाको माथिल्लो भेगका धुन्चे, स्याफ्रु, गत्लाङ, गोल्जुङ, थुमन, ब्रिदिम, हाकु र तिरुजस्ता गाउँसँगको यातायात सम्पर्क टुटेको छ।

सडक सम्पर्क विच्छेद भएपछि ती क्षेत्रमा खाद्यान्न संकट गहिरिँदै गएको स्थानीयले बताएका छन्। तत्काल वैकल्पिक व्यवस्था नगरे भोकमरीको अवस्था सिर्जना हुन सक्ने उनीहरूको चिन्ता छ।

“वैकल्पिक सडक मार्ग छैन। तत्काल हवाई मार्गबाट राहत सामग्री ढुवानी नगरे बाँचेका नागरिक पनि भोकै मर्ने अवस्था आउन सक्छ,” न्यौपानेले बताए।

‘अरूलाई बचाएँ, श्रीमतीलाई बचाउन सकिनँ’

बाढीले घरबास र सम्पत्ति मात्रै होइन, परिवारका सदस्यसमेत गुमाएका पीडितको पीडा झनै गहिरो छ।

नुवाकोटको विदुर–१०, बेत्रावतीका होटल व्यवसायी शेषबहादुर लामिछानेको घर त्रिशूली नदीको सतहभन्दा निकै माथि थियो। तर, सुनामीजस्तै आएको बाढीले उनको परिवारलाई ठूलो शोकमा पारेको छ।

“श्रीमतीले मलाई बुबा र दाइहरूलाई बचाउन पठाएकी थिइन्। मैले उनीहरूलाई त सुरक्षित ठाउँमा पुर्‍याएँ, तर मेरी श्रीमती भाग्न सकिनन्,” लामिछानेले भावुक हुँदै भने।

उनका अनुसार उनकी श्रीमतीले दाइकी नातिनीलाई कान्लातर्फ फालेर बच्चाको ज्यान जोगाएकी थिइन्। तर, आफू भने बाढीबाट बच्न सकिनन्।

लामिछाने अहिले श्रीमतीको खोजीमा काठमाडौंका अस्पताल र शवगृह (मर्चरी) धाइरहेका छन्।

शव पहिचानमा समेत समस्या

बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा काठमाडौंसम्म आइपुगेका परिवारजन शव पहिचानको समस्याले थप पीडामा छन्।

“हामी त सडकमा आयौँ। राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भए पनि शान्ति मिल्ने थियो,” लामिछानेले भने।

त्रिवि शिक्षण अस्पताल र ट्रमा सेन्टरमा आफन्तको नाम वा तस्वीर भेटिने आशामा पुगेका धेरै परिवार निराश भएर फर्किनुपर्ने अवस्था रहेको पीडितहरूले बताएका छन्।

१६ जना कामदार बेपत्ता

सल्यानबाट रसुवा हाइड्रोपावरमा काम गर्न आएका १६ जना कामदारको एउटै समूह बाढीमा परेर बेपत्ता भएको जनाइएको छ।

बेपत्ता भएकामध्ये एकका आफन्त आशा मगरले सरकारको पूर्वसूचना र उद्धार व्यवस्थामाथि प्रश्न उठाएकी छन्।

“हाम्रा दुई जना भाइ, काका र छिमेकी गरी १६ जना सबैलाई बाढीले लग्यो। सरकारले सूचना दिएको भए उनीहरू किन भागेनन्?” उनले आक्रोश पोखिन्।

उनले चीनतर्फ बाँध फुटेको जानकारी आएपछि पनि स्थानीयलाई समयमै सतर्क नगराइएको गुनासो गरिन्। “८ बजे चीनमा बाँध फुटेको जानकारी हुँदाहुँदै १० बजे बाढी आउँदासम्म किन स्थानीयलाई सतर्क गराइएन?” उनले प्रश्न गरिन्।

राहतसँगै दीर्घकालीन पुनर्स्थापना माग

बाढीपीडितहरूले तत्कालको राहतले मात्रै आफूहरूको जीवन सामान्य अवस्थामा फर्कन नसक्ने बताएका छन्। उनीहरूले घरवास, सम्पत्ति र परिवारका सदस्य गुमाएकाहरूका लागि सरकारले विशेष पुनर्स्थापना प्याकेज घोषणा गर्नुपर्ने माग गरेका छन्।

पीडितका अनुसार अहिले सुरक्षित आवास, खाद्यान्न, औषधि र खानेपानीको तत्काल व्यवस्था आवश्यक छ। त्यससँगै सडक, पुल, विद्युत्, सञ्चार र खानेपानीजस्ता पूर्वाधारको पुनर्निर्माण तथा विस्थापित परिवारको दीर्घकालीन पुनर्स्थापना पनि राज्यको प्राथमिकतामा पर्नुपर्छ।

भोटेकोसी बाढीले रसुवा र आसपासका क्षेत्रमा पुर्‍याएको क्षति भौतिक पूर्वाधारको विनाशमा मात्र सीमित छैन। आफन्त गुमाएका, बेपत्ता परिवारको खोजीमा भौँतारिएका र घरबास गुमाएर विस्थापित भएका नागरिकका लागि यो विपत्ति जीवनभर नमेटिने पीडामा परिणत भएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

५५ वर्षमै अवकाशको प्रस्ताव : हजारौँ कर्मचारी प्रभावित हुने, प्रशासनमा पुस्तान्तरण कि ‘भ्याकुम’?

स्याँफ्रुबेँसी : जहाँ बाढीले घर होइन, जीवन नै बगायो

‘भरे कुरा गरौँला’ भन्दै छुटेका सविन, ‘दिउँसो फोन गर्छु’ भनेका सुमन फर्किएनन्

भोटेकोशीको त्यो दिन : केही सेकेन्डले छुट्याएको जीवन र मृत्यु

रसुवागढीको विपत्तिले सातै प्रदेशलाई रुवायो : व्यापारिक नाकादेखि जलविद्युत्का दक्ष जनशक्तिसम्म तहसनहस

१२ घण्टा जंगलमा भौँतारिए, पसिना निचोरेर पिए, बिस्कुट खाए– यसरी बाँचे शिवु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu