काठमाडौं । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ। स्थानीय विपद् व्यवस्थापन तथा उद्धार केन्द्रका अनुसार शुक्रबार साँझ ६ बजेसम्म ५३१ जना अझै बेपत्ता छन्।
उद्धारकर्मीले प्रभावित क्षेत्रबाट ९८७ वटा व्यक्तिगत सामान फेला पारेका छन्। जी–२१६ उद्धार मार्गमा निरीक्षणका क्रममा ५८ वटा सम्भावित भूगर्भीय विपद्का जोखिमस्थल पहिचान गरिएको केन्द्रले जनाएको छ।
प्रभावित तीन गाउँको जोखिम मूल्याङ्कन पूरा गरी दुईवटा अस्थायी आपत्कालीन आश्रयस्थलका लागि स्थानसमेत छनोट गरिएको छ। प्रभावित क्षेत्रमा आपत्कालीन आपूर्ति व्यवस्थापनका लागि आवश्यक मार्गनिर्देशनसमेत दिइएको अधिकारीहरूले बताएका छन्।
द्वितीयक विपद्को जोखिम पहिचान र रोकथामका लागि मौसम, प्राकृतिक स्रोत, जलस्रोत तथा आपत्कालीन व्यवस्थापनका अधिकारीसहित चिनियाँ विज्ञान प्रतिष्ठान र चीन एकेडेमी अफ सेफ्टी साइन्स एन्ड टेक्नोलोजीका १७२ विशेषज्ञ तथा प्राविधिक जनशक्ति परिचालन गरिएको छ।
बरफ–चट्टान पहिरोपछि आएको बाढीले गिरोङ बन्दरगाह आसपासका भवन, विद्युत् आपूर्ति संरचना तथा बन्दरगाहतर्फ जाने जी–२१६ राजमार्गको एक खण्डमा क्षति पुर्याएको छ। सडक र पूर्वाधारमा भएको क्षतिले उद्धार तथा राहत कार्यमा समेत कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।
कठिन भूगोलका कारण उद्धारमा समस्या भए पनि चीनले हेलिकोप्टर, स्पिडबोट र रबरका डुङ्गा परिचालन गरी उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुर्याएको छ। स्थलगत उद्धार टोलीले करिब १२ घण्टा ठाडो पहाडी बाटो पार गर्दै पैदल प्रभावित क्षेत्रमा पुगेका थिए।
उद्धार तथा खोजी कार्यमा करिब २ हजार ३०० उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धार सवारीसाधन, ८ हजारभन्दा बढी व्यावसायिक उपकरणका सेट, ८०० भन्दा बढी ड्रोन उडान तथा २४ हेलिकोप्टर उडान परिचालन गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्