पोखरा । पोखरा–१८ गैरीचौतारा घुम्तीस्थित सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ४ः५० बजे बीआर ०५ बीबी ६७५९ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कारमा सवार चारमध्ये दुई जनाको उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक रिजालका अनुसार मृतकमध्ये भारतको बिहार, पूर्वी चम्पारण जिल्ला, रक्सोल घर भएका २६ वर्षीय नवदीप कुमार यादवको परिचय खुलेको छ । अर्का मृतक करिब ४०–४५ वर्षीय पुरुष रहेको र उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादव घाइते भएका छन् । दुवैको अस्पतालमा उपचार भइरहेको छ ।
घटनालगत्तै वडा प्रहरी कार्यालय बैदामबाट डीएसपी सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेक्वा कालिका गण कास्कीबाट सहायक प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको टोली उद्धारमा खटिएको थियो ।
तालमा डुबेको कारलाई क्रेनको सहायताले बाहिर निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्