काठमाडौं । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि बाढी प्रभावित क्षेत्रमा रहेका ३९ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बाढी आएको सातौँ दिनसम्म रसुवा, नुवाकोट र धादिङबाट ३२४ जना विदेशी नागरिकको उद्धार गरिएको छ। समग्रमा प्रभावित क्षेत्रबाट ११ हजार ८०० भन्दा बढी मानिसको उद्धार गरिएको तथा हालसम्म १ हजार १० वटा शव निकालिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।
“बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार १० वटा शव निकालिएको छ। करिब ४ हजार मानिस अझै बेपत्ता छन्। ३२४ जना विदेशी नागरिकसहित ११ हजार ८०० भन्दा बढी मानिसको उद्धार गरिएको छ,” उनले भने, “३९ देशका करिब ५९० जना विदेशी नागरिक अझै बेपत्ता छन्।”
आपत्कालीन नियन्त्रण कक्षबाट समन्वय
परराष्ट्र मन्त्रालयमा रहेको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित सरकारी निकाय, विदेशस्थित नेपाली कूटनीतिक नियोग तथा सम्पर्कविहीन विदेशी नागरिकका परिवारसँग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।
विदेशस्थित नेपाली नियोगहरूले सूचनाको आदानप्रदान, परिवारसँग सञ्चार तथा आवश्यक परेको अवस्थामा शव पहिचान र स्वदेश फिर्ताको प्रक्रियामा समेत सहजीकरण गरिरहेका छन्।
परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका सरकार तथा कूटनीतिक निकायसँग निरन्तर सम्पर्कमा रहेर आवश्यक कन्सुलर सहायता उपलब्ध गराउने जनाएको छ।
भारतका सबैभन्दा धेरै नागरिक सम्पर्कविहीन
सम्पर्कविहीन विदेशी नागरिकमध्ये सबैभन्दा ठूलो संख्या भारतीय नागरिकको रहेको छ।
उपलब्ध विवरणअनुसार भारतका १८३ जना, अमेरिकाका ६४, मलेसियाका ५५, युक्रेनका ५४, अस्ट्रेलियाका ३५, बेलायतका ३३, लाट्भियाका ३३, क्यानडाका ३० र चीनका २५ जना नागरिक सम्पर्कविहीन छन्।
यस्तै, रुसका आठ, जर्मनीका आठ, सिंगापुरका नौ, दक्षिण अफ्रिकाका छ, फ्रान्सका चार, न्युजिल्यान्डका पाँच, जापानका पाँच तथा कजाकिस्तानका तीन जना नागरिक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
नेदरल्यान्ड्स, आयरल्यान्ड, पोर्चुगल, स्पेन, बेल्जियम र इटालीका दुई–दुई जना नागरिक सम्पर्कविहीन छन्।
इस्टोनिया, भियतनाम, स्विट्जरल्यान्ड, सर्विया, स्विडेन, फिलिपिन्स, इजरायल, लिथुआनिया, हंगेरी, फिनल्यान्ड र बेलारुसका एक–एक जना नागरिक सम्पर्कविहीन रहेको जनाइएको छ।
दूतावाससँग निरन्तर सम्पर्क
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार सम्पर्कविहीन आफन्तको खोजीका लागि विदेशी नागरिक ठूलो संख्यामा नेपाल आएको जानकारी छैन। यद्यपि नेपालमा रहेका केही विदेशी दूतावासले आफ्ना नागरिकको अवस्थाबारे नियमित चासो राखिरहेका छन्।
“सम्पर्कविहीन भएका आफ्ना आफन्त खोज्न विदेशी नागरिक आएको थाहा पाएको छैन। बरु सम्बन्धित देशका यहाँ रहेका केही दूतावासले आफ्ना नागरिकका बारेमा चासो राखेका छन्,” ढकालले भने।
भारतबाट भने आफ्ना आफन्तको खोजीमा धेरै व्यक्ति नेपाल आएको उनले बताए। तर उनीहरूको यकिन संख्या भने उपलब्ध छैन।
बाढीअघि टिमुरे नाकाबाट ७७३ विदेशीको आवागमन
अध्यागमन विभागका अनुसार भदौ १० गते बाढी आएको दिन टिमुरेस्थित अध्यागमन कार्यालयबाट स्वदेशी तथा विदेशी गरी ९३ जनाले आगमन तथा प्रस्थान अनुमति लिएका थिए।
बाढी आउनुभन्दा दुई–तीन दिनअघिदेखि बाढी आएको दिनसम्म ७७३ जना विदेशी नागरिकले टिमुरे नाकाबाट आगमन तथा प्रस्थान अनुमतिलिएको विभागका प्रवक्ता ढकालले जानकारी दिए।
यसले बाढी प्रभावित रसुवाको सीमावर्ती क्षेत्रमा त्यस अवधिमा विदेशी नागरिकको उल्लेख्य आवागमन रहेको देखाउँछ।
उद्धार गरिएका विदेशीमा भारतीय र चिनियाँ धेरै
नेपाल पर्यटन बोर्डका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका विदेशी नागरिकमध्ये भारतका १८७ र चीनका १०८ जना छन्।
यस्तै, जर्मनीका चार, माल्टाका चार, इटालीका दुई, रुसका दुई, टर्कीका दुई र अमेरिकाका दुई नागरिकको उद्धार गरिएको छ।
बुल्गेरिया, ओमान, पोर्चुगल र स्विट्जरल्यान्डका एक–एक जना नागरिकसमेत उद्धार गरिएको पर्यटन बोर्डले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा विदेशी नागरिक सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा पहिचानका लागि नेपाल सरकार सम्बन्धित देशका दूतावास र विदेशी सरकारसँग समन्वयमा रहेको छ। खोज तथा उद्धार अभियानसँगै पहिचान हुन नसकेका शवको डीएनए परीक्षण र कन्सुलर समन्वयलाई समेत तीव्र बनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्