काठमाडौँ, भदौ १५ गते । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार अभियानलाई तीव्र पारिएको छ। नेपाली सेनाको कमान्डमा विशेषज्ञसहितको टोलीले तीन दिनदेखि जलविद्युत् आयोजनाका सुरुङलाई केन्द्रित गरी खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङमा विज्ञसहितको टोली परिचालन गरी खोजी जारी छ। विदेशीसहितको संयुक्त उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्दा हिलो तथा माटोले पुरिएको अवस्थामा दुईवटा शव फेला पारेको सेनाले जनाएको छ। त्यस्तै, माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गर्दा एक शव फेला परेको छ। लाङटाङ आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार जारी रहेको सेनाले जनाएको छ। माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा सोमबार बिहान करिब २ बजे विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने प्रयास गरिएको थियो। अहिले दुईवटा एक्स्काभेटर प्रयोग गरी करिब १० मिटर मुनि प्वाल बनाउने तथा सुरुङभित्र जमेको पानी, हिलो र लेदो हटाउने काम भइरहेको छ। बाढी प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा उद्धार आवश्यकताको मूल्याङ्कन गर्न सेनाले पैदल गस्तीसमेत जारी राखेको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार स्याफ्रुबेँसी क्षेत्रमा राहत तथा रासन वितरणसँगै लाङटाङ हाइड्रो क्षेत्रमा निरीक्षण गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्